वीरगंज पब्लिक कलेज (बिपीसी)ले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई लक्षित गर्दै स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। होटल भिस्वामा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो।
कलेजका कार्यकारी निर्देशक युगल किशोर प्रसाद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले गुणस्तरीय शिक्षा, अनुशासन, नेतृत्व क्षमता तथा व्यवहारिक सीपले नै विद्यार्थीको सफल भविष्य निर्माण गर्ने बताउनुभयो।
नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंह, कलेजका संस्थापक डा. दीपक शाक्य, ब्रान्ड एम्बासडर देवेश गुप्ता, शैक्षिक निर्देशक डा. बिनय ठाकुर, प्राचार्य डा.बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ तथा क्याम्पस संयोजक इन्जिनियर जयकिशन साहनीले नवप्रवेशी विद्यार्थीलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै अध्ययनसँगै नेतृत्व क्षमता, चरित्र निर्माण र व्यवहारिक सीप विकासमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
कार्यक्रममा कलेजका शैक्षिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराइएको थियो। साथै नवप्रवेशी विद्यार्थीलाई कलेज परिवारमा औपचारिक रूपमा स्वागत गर्दै उनीहरूको उज्ज्वल शैक्षिक भविष्यको कामना गरेका थिए ।