वीरगञ्ज— वीरगञ्ज महानगरपालिका–१० स्थित माउन्ट मकालु बोर्डिङ स्कुलमा विद्यार्थीहरूको व्यक्तित्व विकास तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरीजवाफ र स्पिच प्रतियोगिता सम्पन्न भएको छ।
शुक्रबार आयोजित कार्यक्रम विद्यालयकी उप–प्राचार्य रेखा जैसीको अध्यक्षता तथा जगत समाचार डटकम एवं जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले प्रतियोगितामा सहभागी सबै विद्यार्थीको प्रयासको प्रशंसा गर्दै जित वा हारभन्दा पनि आत्मविश्वासका साथ आफ्नो विचार प्रस्तुत गर्ने क्षमता महत्वपूर्ण हुने बताए। उनले विद्यार्थीहरूलाई शिक्षकका मार्गदर्शनलाई ध्यानपूर्वक पालना गर्न र अभिभावकको अपेक्षा पूरा गर्न निरन्तर मेहनत गर्न आग्रह गरे।
विद्यालयका प्राचार्य राहुल श्रीवास्तवले विद्यार्थीको बोल्ने कला, नेतृत्व क्षमता, आत्मविश्वास तथा सिर्जनशीलता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गरिँदै आएको बताए। उनका अनुसार विद्यालयले हरेक महिना विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ।
'हाम्रो उद्देश्य विद्यार्थीलाई पढाइमा मात्र होइन, लेखन, वक्तृत्वकला, चित्रकला, खेलकुदलगायत सबै क्षेत्रमा सक्षम बनाउनु हो,' प्राचार्य श्रीवास्तवले भने।
स्पिच प्रतियोगिता कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई तीन समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो। कक्षा ९–१० समूहमा निशा प्रथम, आनन्द द्वितीय र आशा तृतीय भए। कक्षा ७–८ समूहमा परी प्रथम, सुशान्त पटेल द्वितीय र अञ्जली शर्मा तृतीय स्थानमा रहे। कक्षा ६ समूहमा निशा क्षेत्री प्रथम, आशभ श्रीवास्तव द्वितीय तथा आनन्द पटेल तृतीय भए।
त्यसैगरी हाजिरीजवाफ प्रतियोगितामा कक्षा ४, ५ र ६ का विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा कक्षा ४ प्रथम, कक्षा ६ द्वितीय र कक्षा ५ तृतीय भएको विद्यालयले जनाएको छ।
कार्यक्रममा शिक्षक–शिक्षिका चन्दन साह, अम्बिका जिसी, चन्दा सिंह, प्रिया सिंह, सुमन साह, आस्था श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।