गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद्लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै इन्भेस्टिचर समारोह–२०८३ भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित समारोहमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न नेतृत्वदायी जिम्मेवारी प्रदान गर्दै सम्बन्धित पदअनुसार ब्याज लगाएर सम्मान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्जस्थित श्री जंग गणका गणपति (कर्णेल) लोकेन्द्र कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, सौराज प्रधान, एल्भिन सर, जुनियर को–अर्डिनेटर सिपेन्द्र गुप्ता, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा स्वरा झालाई हेड गर्ल, अभिनव ठाकुरलाई हेड ब्वाय, प्रियम कुमारी सिन्हा र सिद्धार्थ कुमार मिश्रालाई हेड प्रिफेक्ट, अदिति पिठाकोटे मगर र बासु चौरसियालाई अतिरिक्त क्रियाकलाप प्रमुख, आर्या चौरसिया र अंकित कुमारलाई अनुशासन प्रमुख, रिजन चापागाईं र स्वस्तिका रौनियारलाई सामाजिक पहुँच प्रमुख, दिप्शिखा गुप्ता र अनिश चौधरीलाई खेलकुद प्रमुख, जबेरिया खातुन र आलोक शाहलाई भाषा प्रमुख, रुशाली माली श्रेष्ठ र अर्नव केजरीवाललाई डिजिटल वेलनेस प्रमुख तथा मेहविश प्रवीन र ऋषभ गुप्तालाई सह–पाठ्यक्रम प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो।
विद्यालयका अनुसार यस अवसरमा अन्य विभिन्न विद्यार्थीहरूलाई पनि उनीहरूको जिम्मेवारीअनुसार विभिन्न ब्याज वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णेल लोकेन्द्र कार्कीले विद्यालय जीवनमै नेतृत्व, अनुशासन, जिम्मेवारी र सेवाभावको विकास गर्न सके भविष्यमा सक्षम र जिम्मेवार नागरिक बन्न सहज हुने बताए। उनले विद्यार्थी परिषद्मा चयन भएका पदाधिकारीहरूलाई इमानदारी, समर्पण र उत्तरदायित्वका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे।
अध्यक्षीय मन्तव्य व्यक्त गर्दै प्रधानाध्यापक गणेश क्षेत्रीले विद्यार्थी परिषद् विद्यालयमा नेतृत्व विकास गर्ने महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै नवनिर्वाचित पदाधिकारीहरूले विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
विद्यालयका अनुसार उत्साहपूर्ण वातावरणमा सम्पन्न इन्भेस्टिचर समारोहले विद्यार्थीहरूमा नेतृत्व क्षमता, उत्तरदायित्व, अनुशासन तथा सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।