हरिखेतान बहुमुखी कलेज, वीरगञ्जकी छात्रा अञ्जली कुमारी गुप्ताले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीएस परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेकी छन्।
यससँगै उनले सामुदायिक क्याम्पसतर्फ नेपालमै प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। उनको यो उत्कृष्ट उपलब्धिले हरिखेतान बहुमुखी कलेजसँगै सम्पूर्ण पर्सा जिल्लाको शैक्षिक प्रतिष्ठा राष्ट्रिय स्तरमा उँचो बनाएको छ।
कलेज प्रमुख किशोरी रायका अनुसार नेपालभर रहेका ५५६ वटा कलेजमध्ये हरिखेतान बहुमुखी कलेजले यस वर्ष बीबीएस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपालमै प्रथम स्थान कायम गर्न सफल भएको हो। उनले यस सफलताले कलेजको गुणस्तरीय शैक्षिक वातावरण, दक्ष शिक्षक तथा विद्यार्थीको निरन्तर मेहनतको प्रतिफल भएको बताए।
यसैगरी, हरिखेतान बहुमुखी कलेज सञ्चालक समितिका सल्लाहकार जय प्रकाश खेतानले अञ्जली कुमारी गुप्तालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। उनले कलेजको गौरव बढाउने यस उपलब्धिको सम्मानस्वरूप एक साताभित्र विशेष सम्मान कार्यक्रम आयोजना गरी अञ्जलीलाई सम्मान गरिने जानकारी दिए।
अञ्जलीको यो सफलता मेहनत, अनुशासन, लगनशीलता र गुणस्तरीय शिक्षाको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ। कलेज प्रशासन,संचालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूले उनको उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिएका छन्।