वीरगञ्ज- युनिसेफ नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समुदाय Social Organization District Coordination Community–SODCC) को संयुक्त आयोजनामा लिटिल एन्जल्स बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई लक्षित गरी जल संरक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा प्रशिक्षक अजय पटेल र मधु चौहानले जल संरक्षणको आवश्यकता, स्वच्छ खानेपानीको महत्व, वर्षाको पानी संकलन, जलस्रोतको दिगो व्यवस्थापन तथा पानीको उचित उपयोगका विषयमा विद्यार्थीहरूलाई विस्तृत जानकारी गराएका थिए।
उनीहरूले बढ्दो जल संकट, जलवायु परिवर्तनका असर तथा भविष्यका पुस्ताका लागि पानी संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै प्रत्येक व्यक्ति, विद्यालय, समुदाय तथा स्थानीय तहले पानीको दुरुपयोग रोक्न सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिएका थिए।
अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूले जल संरक्षणका व्यावहारिक उपाय, समुदायस्तरमा सञ्चालन गर्न सकिने संरक्षण अभियान तथा जनचेतना अभिवृद्धिका विषयमा अन्तरक्रियात्मक छलफल गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्साहजनक उपस्थितिले कार्यक्रमलाई प्रभावकारी बनाएको आयोजकले जनाएको छ।
लिटिल एन्जल्स बोर्डिङ स्कुलका प्रिन्सिपल सन्नी पाख्रिनले पानीको प्रत्येक थोपा बचाउनु नै भविष्य सुरक्षित गर्नु भएको उल्लेख गर्दै सबैले दैनिक जीवनमा पानीको मितव्ययी प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले पानी संरक्षण नगरे भविष्यमा गम्भीर संकट आउन सक्ने भएकाले विद्यार्थीहरूलाई सचेत बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए।
आयोजक संस्था SODCC का अनुसार यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायमा जल संरक्षणप्रति सकारात्मक सोचको विकास गर्नुका साथै दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। विद्यालयस्तरबाट नै जल संरक्षणको संस्कार विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।