सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनापछि सरुवा भएर आएका सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरीप्रसाद अर्याल र कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले सोमबार राति नै कार्यभार सम्हाल्दै शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सक्रियता बढाएका छन्।
संखुवासभाबाट सरुवा भई आएका प्रजिअ अर्याल सोमबार राति करिब १० बजे सुनसरी पुगेका हुन्। कार्यभार सम्हालेलगत्तै उनले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै घटनापछि आन्दोलनमा रहेका दुवै पक्षलाई छुट्टाछुट्टै वार्ताका लागि बोलाइएको जानकारी दिएका छन्।
प्रजिअ अर्यालले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी एकता कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनले संवाद र सहमतिमार्फत समस्याको समाधान खोजिने विश्वास व्यक्त गरे।
यसअघि सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेको सरुवा भएपछि कोशी प्रदेश प्रहरी कार्यालयले जिल्लाको सुरक्षा समन्वयका लागि एसपी सुमन तिम्सिना र एसपी नारायणप्रसाद चिमोरियालाई खटाएको छ। उनीहरूले हाल जिल्लाको सुरक्षा व्यवस्थापन र समन्वयको जिम्मेवारी सम्हालिरहेका छन्।
यसैबीच, कोशी प्रदेश प्रहरी प्रमुखका रूपमा नियुक्त डीआईजी शेखर खनालले पनि सोमबार राति विराटनगरस्थित कार्यालयमा कार्यभार सम्हाल्दै सुनसरीसहित प्रदेशका १४ वटै जिल्लामा शान्ति–सुरक्षा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कानुनको प्रभावकारी कार्यान्वयनमा कुनै कमी हुन नदिने बताएका छन्।
कप्तानगन्ज घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले संवाद, समन्वय तथा सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेर जिल्लामा शान्ति र सामाजिक सद्भाव कायम गर्न आवश्यक पहल अघि बढाएका छन्।