वीरगञ्ज, साउन १४। वीरगञ्ज महानगरपालिका–५ स्थित मनकामना बोर्डिङ स्कुलमा गुरुपूर्णिमाको अवसरमा कक्षा ९ का विद्यार्थीहरूले विशेष सम्मान कार्यक्रम आयोजना गर्दै आफ्ना गुरु–गुरुआमाप्रति सम्मान र कृतज्ञता व्यक्त गरेका छन्।
कार्यक्रममा विद्यार्थीहरूले केक काटेर गुरु–गुरुआमालाई शुभकामना तथा बधाई दिएका थिए। साथै विभिन्न नृत्य, सांगीतिक प्रस्तुति तथा अतिरिक्त क्रियाकलापमार्फत गुरुपूर्णिमा उल्लासपूर्वक मनाइएको थियो।
विद्यालयका सञ्चालक तथा प्रिन्सिपल पुरन प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जगत समाचार डटकमका सञ्चालक एवं जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईले विद्यार्थीहरूलाई आफ्ना गुरु–गुरुआमाप्रति सधैं सम्मान, आदर र कृतज्ञताको भावना राख्न आग्रह गरे। उनले शिक्षकहरू नै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने मार्गदर्शक भएकाले उनीहरूको सम्मान गर्नु प्रत्येक विद्यार्थीको कर्तव्य भएको बताए।
त्यसैगरी, आदिवासी जनजाति पत्रकार महासंघ पर्साका अध्यक्ष मुनेश कुमार लायो मगरले पनि विद्यार्थीहरूलाई शिक्षक–शिक्षिकाप्रति सधैं सम्मानभाव राख्न सुझाव दिए।
अध्यक्षीय मन्तव्यका क्रममा प्रिन्सिपल पुरन प्रधानले गुरु–गुरुआमाले विद्यार्थीलाई सधैं असल बाटोमा डोर्याउने र उज्ज्वल भविष्यतर्फ प्रेरित गर्ने भएकाले शिक्षकप्रतिको सम्मान जीवनभर कायम राख्नुपर्ने बताए। उनले विद्यालय परिवार विद्यार्थीहरूको सफल भविष्यका लागि सधैं समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा सहायक प्रिन्सिपल सुनिल यादव, रञ्जित श्रीवास्तव, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण आँचल मिश्रा र शुभम उपाध्यायले गरेका थिए।
गुरुपूर्णिमाको अवसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सम्मान र संस्कारको सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।