वीरगञ्ज, साउन १४। वीरगञ्ज महानगरपालिका–१०, अशोक वाटिकास्थित माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ्ग स्कूलमा कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा शिक्षक दिवस (गुरु पूर्णिमा) भव्य रूपमा मनाइएको छ। विद्यार्थीहरूको सक्रिय सहभागिता, उत्साह र सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई आकर्षक तथा स्मरणीय बनाएको थियो।
विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक कामेश्वर प्रसाद श्रीवास्तव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी उप–प्रधानाध्यापक रेखा जैशी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा समन्वयक अम्बिका केसी, अम्बिका श्रेष्ठ, चन्दन साह, प्रिया सिंह, सुमन शाह, स्नेहा रौनियार लगायत विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यार्थीहरूले आफ्ना गुरु–गुरुआमाप्रति सम्मान व्यक्त गर्दै टीका, फूल तथा उपहार अर्पण गरेका थिए। साथै नृत्य, कविता वाचन, सांगीतिक प्रस्तुति तथा अन्य सांस्कृतिक कार्यक्रममार्फत शिक्षकहरूप्रति कृतज्ञता प्रकट गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले शिक्षकको भूमिका विद्यार्थीको व्यक्तित्व निर्माण र उज्ज्वल भविष्यका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै गुरु–गुरुआमाप्रति सधैं सम्मान र आदरको भावना कायम राख्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए।
अध्यक्षीय मन्तव्यका क्रममा प्रधानाध्यापक राहुल श्रीवास्तवले यस्ता कार्यक्रमले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका तथा आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
विद्यालयका अनुसार विद्यार्थीहरूको नेतृत्वमा सम्पन्न उक्त शिक्षक दिवस (गुरु पूर्णिमा) विशेष कार्यक्रम सफल, अनुकरणीय तथा विद्यालय परिवारका लागि अविस्मरणीय बनेको छ।