१९ साउन, काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर डेंगु सङ्क्रमणको जोखिम पुनः तीव्र रूपमा बढ्न थालेको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) ले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदन अनुसार गत पुसदेखि साउन १५ गतेसम्म देशभरका ७२ जिल्लाबाट २ हजार २५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भइसकेको छ ।
महाशाखाको पाक्षिक विश्लेषण अनुसार वर्षात् सुरु भएसँगै सङ्क्रमण दरमा उल्लेख्य वृद्धि देखिएको हो। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५६८ जना (२८ प्रतिशत) र गण्डकी प्रदेशमा ५३२ जना (२६.३ प्रतिशत) सङ्क्रमित भेटिएका छन् ।
जिल्लागत आधारमा झापा (२०४ जना), बागलुङ (१८० जना), सुनसरी (१६१ जना), पाल्पा (११६ जना) र कास्की (११० जना) डेंगुबाट सबैभन्दा बढी प्रभावित मुख्य पाँच जिल्लाका रूपमा रहेका छन् ।
वर्षात्को समय र त्यसपछिको अवधिमा लामखुट्टेको वंशवृद्धि तीव्र हुने भएकाले जोखिम न्यूनीकरणका लागि सरकारले “साउन, भदौ, असोज: डेंगु सचेतना तीन महिने अभियान” सञ्चालनमा ल्याएको छ ।
यस अभियानमार्फत डेंगु सार्ने ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको वासस्थान तथा प्रजनन स्थलहरूको खोजी गरी नष्ट गर्ने (‘सर्च एन्ड डिस्ट्रोय’) कार्यलाई तीव्र बनाउने र समुदायस्तरमा व्यापक जनचेतना फैलाउने लक्ष्य राखिएको महाशाखाले जनाएको छ । महाशाखाले बढी प्रभावित जिल्ला तथा स्थानीय तहहरूमा नियमित अनुगमन गर्दै रोकथामका लागि प्राविधिक सुझाव र दिशानिर्देशन निरन्तर पठाइरहेको छ ।
डेंगु नियन्त्रणका लागि लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी तथा व्यवस्थापन नै सबैभन्दा प्रभावकारी उपाय भएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
घर, कार्यालय तथा सार्वजनिक स्थल वरपर पानी जम्न सक्ने पुराना टायर, ड्रम, गमला, बोतल तथा खुला भाँडाहरूमा पानी जम्न नदिन र नियमित सरसफाइ गर्न आग्रह गरिएको छ।
यस्तै, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउन, सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गर्न, घरका झ्याल-ढोकामा जाली लगाउन र टोकाइबाट बच्ने मलम (ओन्टमेन्ट) प्रयोग गर्न अनुरोध गरिएको छ। उच्च ज्वरो, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने जस्ता डेंगुका लक्षणहरू देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी परामर्श लिन महाशाखाले सबैमा अपिल गरेको छ ।