एजेन्सी । एटलान्टिक महासागरको एउटा सानो टापु मडेइराको फुन्चलमा ५ फेब्रुअरी १९८५ मा जन्मिएका क्रिस्टियानो रोनाल्डो दोस सन्टोस अवेइरोको जीवनकथा अभाव र सफलताको एउटा जीवन्त दस्तावेज हो ।
एउटा सानो टिनको छानो भएको घरमा चार भाइबहिनीमध्ये कान्छा रोनाल्डोको बाल्यकाल चरम गरिबीमा बितेको थियो ।नगरपालिकामा माली र स्थानीय क्लबका किट म्यानको काम गर्ने बुबा जोसे दिनिस अवेइरो र अरूको घरमा खाना पकाउने तथा सफाइ गर्ने आमा मारिया डोलोरेसको त्यो परिवारमा कतिपय रातहरू पर्याप्त खाना बिना नै बित्ने गर्थे । भोक मेटाउनका लागि बालक रोनाल्डो र उनका साथीहरू म्याकडोनाल्ड्सको पछाडिको ढोकामा गएर बाँकी रहेका बर्गर माग्ने गर्थे ।
बुबाको अत्यधिक मद्यपानको लत र डिप्रेसनले परिवारलाई थप तनावपूर्ण बनाएको थियो, जसका कारण रोनाल्डोले बाल्यकालमै धेरै मानसिक सङ्घर्ष भोग्नुपर्यो ।
मुटुको गम्भीर समस्या
रोनाल्डोको व्यावसायिक फुटबलको यात्रा १२ वर्षको उमेरमा मडेइरा छोडेर लिस्बनको ‘स्पोर्टिङ सीपी’ एकेडेमीमा जाँदा सुरु भएको थियो ।
नयाँ ठाउँमा आफ्नो गाउँले उच्चारणका कारण साथीहरूले चिढ्याउँदाको पीडा, घरको याद र एक्लोपनले उनलाई कतिपय समयमा घर फर्कन बाध्य बनाउन लागेको थियो । तर आमाको दरिलो सहयोग र उनको आफ्नै दृढ अठोटले उनलाई रोकिराख्यो ।
१५ वर्षको उमेरमा मुटुको गम्भीर समस्या पत्ता लागेपछि उनको शल्यक्रिया गरियो, जहाँ डाक्टरहरूले फुटबल खेल्न जोखिमपूर्ण हुने चेतावनी दिएका थिए । तर, विज्ञानलाई समेत चुनौती दिँदै उनी मैदानमा फर्किए र विद्यालय छोडेर पूर्ण रूपमा फुटबलमा केन्द्रित भए।
आफ्ना बुबाको असामयिक निधनपछि उनले आफ्नो सफलता बुबालाई देखाउन नपाएकोमा अझै पनि पछुतो व्यक्त गर्ने गर्छन् ।
फुटबलले फेरेको जीवन
खेल जीवनको सुरुआतमा स्पोर्टिङ सीपीबाट सन् २००२-०३ मा डेब्यू गर्दा वार्षिक करिब आठ लाख पाउन्ड कमाएका रोनाल्डोलाई १८ वर्षको उमेरमा म्यानचेस्टर युनाइटेडले १२.८५ मिलियन पाउन्डमा अनुबन्ध गर्यो ।
सुरुमा वार्षिक करिब तीन मिलियन डलरबाट सुरु भएको उनको तलब पछि १२ मिलियन डलर नाघ्यो र छ वर्षमा उनले करिब २२ देखि २५ मिलियन पाउन्ड तलब आर्जन गरे ।
सन् २००९ मा रियल म्याड्रिडले तत्कालीन विश्व रेकर्ड ९४ मिलियन युरोमा उनलाई भित्र्याएपछि उनको वित्तीय ग्राफले नयाँ उचाइ लियो। सुरुमा १६ मिलियन डलरबाट सुरु भएको वार्षिक तलब पछि ३० देखि ४० मिलियन डलरसम्म पुग्यो र ९ वर्षमा उनले ९० मिलियन पाउन्डभन्दा बढी तलब आर्जन गरे ।सन् २०१८ मा युभेन्टसमा १०० मिलियन युरोमा जाँदा उनले वार्षिक ३१ देखि ५७ मिलियन युरो कमाए र तीन वर्षमा ७५ मिलियन पाउन्ड जोडे।
सन् २०२१ मा पुनः म्यानचेस्टर युनाइटेड फर्किँदा उनको तलब वार्षिक २६ देखि २७ मिलियन पाउन्ड हाराहारी थियो, तर करार तोडिएपछि उनी साउदी अरब प्रस्थान गरे ।
अहिले उनी साउदी अरबको अल-नासरमा वार्षिक २०० मिलियन डलरभन्दा बढीको ऐतिहासिक कर-मुक्त पारिश्रमिकमा अनुबन्धित छन्, जसमा क्लबको १५ प्रतिशत इक्विटी र अन्य व्यावसायिक सुविधाहरू समेत जोडिएका छन् ।
‘फोर्ब्स’ र ‘ब्लूमबर्ग’ का अनुसार रोनाल्डोको नेट वर्थ १.२ देखि १.४ अर्ब डलरको बीचमा छ भने उनको कुल करियर कमाई २.१ अर्ब डलर नाघिसकेको छ ।
उनले अमेरिकी खेलकुद सामग्री उत्पादक कम्पनी ‘नाइकी’ सँग १ अर्ब डलरको आजीवन सम्झौता गरेका छन्, जुन सौभाग्य बास्केटबलका लेब्रोन जेम्स र माइकल जोर्डनले मात्र पाएका छन्।मैदानबाहिर उनको ब्रान्ड मूल्य यति उच्च छ कि ६४० मिलियनभन्दा बढी इन्स्टाग्राम फलोअर्स (जम्मा सामाजिक सञ्जालमा करिब १ अर्ब) भएका उनले एउटा पोस्टको ३ मिलियन डलरभन्दा बढी शुल्क लिन्छन्।
यसका साथै हर्बालाइफ, ट्याग हेयर र बिनाइन्स जस्ता विश्वविख्यात ब्रान्डको एन्डोर्समेन्टबाट मात्र उनले वार्षिक ६५ मिलियन डलरभन्दा बढी कमाउँछन् ।
कहाँ कहाँ लगानी ?
रोनाल्डोले आफ्नो आम्दानीलाई ‘सीआर सेभेन एसए’ होल्डिङ कम्पनीमार्फत विभिन्न विलासी र प्राविधिक क्षेत्रमा विविविधीकरण गरेका छन् ।
पर्यटन क्षेत्रमा ‘पेस्टाना होटल ग्रुप’ सँगको ५०:५० साझेदारीमा उनले मड्रिड, न्यूयोर्क, लिस्बन, फुन्चल र माराकेचमा ‘पेस्टाना सीआर सेभेन’ होटल सञ्चालन गरेका छन् भने रियादमा नयाँ होटलको योजना छ । यो होटल पोर्टफोलियोको मूल्य १५० देखि २२५ मिलियन युरो पुगेको अनुमान छ ।प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा उनको रुचि बढ्दो छ, जसअन्तर्गत उनले २० अर्ब डलर मूल्यको ‘पर्प्लेक्सिटी एआई’ र खेलकुद डिजिटल सामग्री व्यवस्थापन गर्ने ‘स्कोर-प्ले’ मा ठूलो लगानी गरेका छन् ।
साथै १०.१ अर्ब डलर मूल्यको ‘हूप’ वेयरेबल टेक, फ्यानक्रेज, ‘युएफएल’ फुटबल गेम र ‘क्रोनो२४’ मा पनि उनको महत्त्वपूर्ण सेयर रहेको छ ।
मिडिया र मनोरञ्जनको क्षेत्रमा रोनाल्डोले पोर्चुगलको सबैभन्दा ठूलो मिडिया हाउस ‘मेडियलिभ्रे’ ५६.८ मिलियन युरोमा खरिद गरेर सबैलाई अचम्ममा पारेका थिए, जसमा ‘कोरेइयो दा मान्हा’ र ‘रेकर्ड’ जस्ता प्रमुख पत्रिकाहरू पर्छन् । उनले म्याथ्यु भनसँग ५०:५० साझेदारीमा फिल्म स्टुडियो र ‘लाइभमोडटीभी’ मा समेत लगानी गरेका छन् ।स्वास्थ्य र सुन्दरताको क्षेत्रमा उनले ‘इन्स्पार्या’नामक कपाल प्रत्यारोपण क्लिनिक स्थापना गरेका छन् जसको सञ्जाल पोर्चुगल, स्पेन, इटालीदेखि ओमान र रियादसम्म फैलिएको छ ।
यसका साथै उनले ‘बियोनिक’ व्यक्तिगत पोषण कम्पनी, ‘क्रन्च फिटनेस’ जिम चेन र ‘उर्सु९’ पानी कम्पनीमा ५० प्रतिशत सेयर स्वामित्व राखेका छन् । उनले हर्बालाइफको सफ्टवेयरमा ७.५ मिलियन डलर लगानी गरेर १० प्रतिशत स्टेक लिएका छन् ।
खेलकुद व्यवसायमै हात हाल्दै रोनाल्डोले स्पेनको ‘युडी अल्मेरिया’ क्लबको २५ प्रतिशत सेयर खरिद गरेका छन् र लिस्बनको ‘प्याडेल सिटी’ मा ५ मिलियन युरो लगानी गरेका छन् । उनको लगानी ‘डब्ल्यूओडब्ल्यू एफसी’ एमएमए प्रमोसन र ‘भिष्टा एलेग्रे’ पोर्सिलेन कम्पनी (जसमा १७.३ मिलियन युरो बराबरको १० देखि ३० प्रतिशत सेयर छ) सम्म फैलिएको छ ।
खानपानको क्षेत्रमा ‘जेला’ रेस्टुरेन्ट चेनमा पनि उनको लगानी रहेको छ । रियल इस्टेटतर्फ पोर्चुगलको कास्काइसमा विशाल म्यान्सनका साथै लिस्बन, मड्रिड, म्यानचेस्टर र न्यूयोर्कमा उनका बहुमूल्य प्रोपर्टीहरू रहेका छन् ।
मैदानभित्र ५ पटक ब्यालोन डी’ओर र ५ पटक च्याम्पियन्स लिगसहित ३५-३६ वटा प्रमुख ट्रफी जितेका रोनाल्डो ९७३ आधिकारिक गोलको रेकर्डसहित १ हजार गोलको लक्ष्यमा छन् ।
मडेइराको त्यो गरिब ठिटो आज विश्वको सबैभन्दा महँगो घडी लगाउँछ र आफ्नै निजी जेटमा उड्छ । रोनाल्डोको अथाह सम्पत्तिको एउटा प्रस्ट प्रतिविम्ब उनको विलासी जीवनशैली र सवारी साधनप्रतिको सौखमा देखिन्छ । उनको आकाशको यात्रालाई करिब ६ करोड ५० लाख डलर पर्ने विश्वकै तीव्र र विलासी ‘गल्फस्ट्रिम जी-६५०’ निजी जेटले सानदार बनाएको छ जसमा १८ जना यात्रुका लागि विलासी बेड, बैठक कोठा र अत्याधुनिक भान्साको सुविधा छ ।
सडकमा गुड्ने सवारीमा रोनाल्डोको रोजाइमा सबैभन्दा महँगो ‘बुगाटी सेन्तोदिएची’ पर्छ, जसको मूल्य १ करोड १५ लाख डलरभन्दा बढी छ र यो विश्वभर जम्मा १० वटा मात्र निर्मित छ । उनको ग्यारेजमा ३० लाख डलरको बुगाटी चिरोन र २२ लाख डलरको बुगाटी भेइरोन पनि छन् । फेरारीका सौखिन रोनाल्डोसँग २५ लाख डलरको दुर्लभ फेरारी डेटोना एसपी-३, १८ लाख डलरको फेरारी मोन्जा, र फेरारीको पहिलो एसयूभी पुरोसाङ्गेका साथै ५९९ जिटिओ र एफ-१२ टीडीएफ जस्ता शक्तिशाली सुपरकारहरू रहेका छन् ।
विलासिताको कुरा गर्दा, उनलाई उनकी प्रेमिका जोर्जिना रोड्रिग्वेजले क्रिसमसमा उपहार दिएको रोल्स रोयस डन, ४ लाख ५० हजार डलरको रोल्स रोयस कुलिनन र फ्यान्टम ड्रपह्याड जस्ता राजसी गाडीहरू उनको सङ्ग्रहमा छन् । जोर्जिनाले नै उनको ३५ औं जन्मदिनमा उपहार दिएको करिब ८ लाख डलर पर्ने ब्राबस जी-वागन पनि अत्यन्तै दुर्लभ छ, जुन विश्वभर १० वटा मात्र बनाइएको छ ।रोनाल्डोको ग्यारेजमा ट्रयाकका लागि बनाइएको १० लाख डलरको म्याक्लारेन सेना, ४ लाख डलरको लाम्बोर्गिनी एभेन्टाडोर, लाम्बोर्गिनी उरुस, र चराको पँखाजस्तै ढोका खुल्ने मर्सिडिज-बेन्ज एसएलएस एएमजी पनि सजिएका छन् । यसबाहेक एस्टन मार्टिन डिबिएस सुपरलेगेरा, बेन्टले कन्टिनेन्टल जिटि, पोर्शे ९११ टर्बो एस र अडी आर-८ जस्ता कारहरूले उनको ३ करोड डलरभन्दा बढी मूल्यको कार सङ्ग्रहलाई पूर्णता दिएका छन् । यी सबै बहुमूल्य सवारी साधनहरू सुरक्षित राख्न उनले मड्रिड, लिस्बन, म्यानचेस्टर र रियादका आफ्ना घरहरूमा विशेष अत्याधुनिक भूमिगत ग्यारेजहरू निर्माण गरेका छन् ।
अभावबाट सुरु भएर आधुनिक युगको प्राविधिक र व्यावसायिक प्रभुत्वसम्म आइपुगेको यो यात्राले रोनाल्डोलाई एउटा खेलाडी मात्र नभई विश्वकै शक्तिशाली ‘ग्लोबल इन्स्टिच्युसन’ का रूपमा स्थापित गरेको छ ।