काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र दुग्ध विकास संस्थान (डिडिसी)बीच दैनिक ६० हजार लिटरभन्दा बढी दूध खरिद–बिक्री गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।
डिडिसीको लैनचौरस्थित कार्यालयमा भएको सम्झौताअनुसार आगामी भदौ १ गतेदेखि नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका साझेदार दुग्ध उत्पादक सहकारी तथा सदस्य किसानबाट थप दूध डिडिसीले खरिद गर्नेछ। चालु आर्थिक वर्षभित्र दैनिक ६० हजार लिटरभन्दा बढी दूध उपलब्ध गराउने लक्ष्य राखिएको छ।
सम्झौताअनुसार डिडिसीले यी दुई संस्थाका सञ्जालमार्फत यसअघि खरिद गरेको दूधको बाँकी रकम एक महिनाभित्र भुक्तानी गर्नुपर्नेछ। साथै, दूधको मात्रा र गुणस्तर प्रारम्भिक सङ्कलन केन्द्रमा मापन गर्दाकै अवस्थामा कायम राख्नुपर्ने तथा दूध ढुवानीको व्यवस्था गर्नुपर्ने उल्लेख छ।
सम्झौतामा पशुपालन तथा दूध उत्पादन बढाउन किसानलाई तालिम, क्षमता विकासलगायत कार्यक्रम सञ्चालन गर्ने विषयसमेत समेटिएको छ।
सम्झौतापछि डिडिसीका महाप्रबन्धक डा. सरनकुमार पाण्डेले सम्झौता दुग्ध क्षेत्रको विकास र प्रवर्द्धनका लागि कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहकारीको मूलमर्म स्थापित गर्न साना किसान कृषि सहकारी संस्थाहरूले गरेको योगदानको प्रशंसा गर्दै डिडिसीले दुग्ध सङ्कलन र बजारीकरणसँगै पशुपालन तथा दूध उत्पादनका बहुआयामिक क्षेत्रमा काम गर्ने बताउनुभयो।
विगतमा डिडिसीमा देखिएका भुक्तानीसम्बन्धी समस्या दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दै महाप्रबन्धक पाण्डेले किसानलाई नियमित भुक्तानीको सुनिश्चितता गरेर अघि बढ्ने बताउनुभयो।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले सम्झौताले किसानको आयआर्जन, उत्पादन र आत्मनिर्भरता बढाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले किसान तहबाटै डिडिसीलाई थप मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै दूधमा देशलाई आत्मनिर्भर बनाउने अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एकराज उप्रेतीले डिडिसीसँग भएको सम्झौतालाई नेपाली दुग्ध उत्पादक किसानका लागि ऐतिहासिक दिनका रूपमा चित्रण गर्नुभयो। उहाँका अनुसार संघको सञ्जालमा आबद्ध संस्थाहरूले हाल दैनिक करिब ४७ हजार लिटर दूध उत्पादन गर्दै आएका छन्।
उप्रेतीले तत्काल थप १५ हजार लिटर दूध डिडिसीलाई उपलब्ध गराउने र चालु आर्थिक वर्षमै दैनिक ६० हजार लिटरभन्दा बढी दूध पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो। दूध बिक्रीबापतको रकम समयमै प्राप्त हुने सुनिश्चिततामा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।
सम्झौतापत्रमा नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक डा. रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी र डिडिसीका महाप्रबन्धक डा। सरनकुमार पाण्डेले हस्ताक्षर गर्नुभएको थियो।
सम्झौता कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दीपाकर रुपाखेती तथा डिडिसीका उपमहाप्रबन्धक र कर्मचारीहरूको सहभागिता रहेको थियो।