२८ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिएको छ ।
महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पत्रकारहरूले कालोपट्टी बाँधेर प्रदर्शनसहित धर्ना दिएका हुन् । शान्तिपूर्ण रूपमा धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि केहीबेर प्रहरी र पत्रकारबीच घम्साघम्सीसमेत भएको थियो ।
प्रदर्शनका क्रममा पत्रकारहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ लगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्नुका साथै कतिपयले बलिरहेको लाल्टिनसमेत बोकेका थिए ।
नेपाल प्रहरीले बुधबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरीले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।
बिहीबार बिहान प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो । महासंघले श्रेष्ठको पक्राउ र सञ्चारगृहमा गरिएको खानतलासीप्रति आपत्ति जनाउँदै तत्काल विनाशर्त रिहाइको माग गरेको छ ।
महासंघले श्रेष्ठलाई विनाशर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघ अध्यक्ष शर्मासहित पत्रकारहरूको टोलीले बुधबार राति पनि काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गरेको थियो ।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन् । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका श्रेष्ठ निर्भीक पत्रकारका रूपमा परिचित छन् ।