काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी स्थापनादेखि निरन्तर सक्रिय भएर काम गरिरहेका नेता तथा कार्यकर्तालाई आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न प्राथमिकता दिइने बताएका छन्।
गाउँपालिका उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ आवेदन प्रक्रिया सुरु गर्दै लामिछानेले सुरुदेखि नै पार्टीका गतिविधिमा खटिएका व्यक्तिको उम्मेदवारीको सम्भावना बढी हुने स्पष्ट पारे। उनका अनुसार पार्टीका लागि काम गर्दा मुद्दा खेपेका, आलोचना तथा दुर्व्यवहार सहँदै संगठन निर्माणमा योगदान गरेका कार्यकर्ताको योगदानलाई पार्टीले मूल्यांकन गर्नेछ।
उनले पार्टीमा सक्रिय रहेका कार्यकर्ताले नयाँ व्यक्ति आएर टिकट पाउने डरले निराश हुनुपर्ने अवस्था नरहेको बताए। तर, नयाँ पुस्ताबाट सक्षम र योग्य व्यक्ति उम्मेदवार बन्ने अवस्था आएमा पार्टीमा लामो समयदेखि काम गरिरहेका कार्यकर्ताले पनि त्यस्ता व्यक्तिका लागि अवसर छोड्नुपर्ने उनको भनाइ छ।
लामिछानेले योग्य नयाँ व्यक्तिलाई पार्टीमा प्रवेश गरी उम्मेदवार बन्ने अवसर खुला राखिने बताए। ‘क्यान्डिडेट क्लब’ प्रक्रियाले उम्मेदवार छनोटलाई व्यवस्थित बनाउने र सक्षम नयाँ व्यक्तिका लागि बाटो खुला गर्ने उनको भनाइ छ।
रास्वपाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका लागि इच्छुक व्यक्तिबाट आवेदन मागेको छ। पहिलो चरणमा देशभरका ४६० गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि उम्मेदवार छनोट गरिनेछ।
त्यस्तै, ३ हजार ६८५ वडाध्यक्ष र १४ हजार ७४० वडा सदस्य पदका लागि समेत इच्छुक व्यक्तिले आवेदन दिन सक्ने रास्वपाले जनाएको छ।