काठमाडौं,१० भदौ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका समसामयिक विषयका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।
संसद्मा प्रधानमन्त्रीको नियमित उपस्थिति र सरकारलाई जवाफदेही बनाउनुपर्ने माग बढ्दै गएपछि सभामुख डोलप्रसाद अर्यालले गत १ गते प्रधानमन्त्रीलाई संसद्मा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए। सोही आधारमा प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको सामना गर्न लागेका हुन्।
आजको प्रश्नोत्तरमा भारतसँगको सीमा विवाद, नेपालको आर्थिक अवस्था, सुशासन तथा समसामयिक राजनीतिक विषय प्रमुख रूपमा उठ्ने देखिएको छ। दलीय प्रतिनिधित्व र बोल्ने समयको आधारमा सत्ता पक्ष तथा प्रतिपक्षका गरी ११ सांसदले प्रधानमन्त्रीलाई प्रश्न दर्ता गराएका छन्।
प्रश्न दर्ता गर्ने सांसदहरूमा अमरेशकुमार सिंह, समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी, वासना थापा, गीता गुरुङ, ऐनबहादुर महर, गणेशसिंह ठगुन्ना, वर्षमान पुन, प्रमेशकुमार हमाल, हर्कराज राई र खुश्बु ओली रहेका छन्।
एमाले सांसद गणेशसिंह ठगुन्नाले कालापानी, सुस्ता लगायतका सीमा समस्याबारे सरकारले गरिरहेको कूटनीतिक पहल र त्यसको परिणामबारे प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारी गरेका छन्। एमाले प्रमुख सचेतक ऐनबहादुर महरले भने देशको आर्थिक अवस्था र सुशासनसँग सम्बन्धित विषयमा प्रश्न राख्ने भएका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने तीनवटा प्रश्न मात्र दर्ता गराएको छ। रास्वपा सचेतक प्रकाशचन्द्र परियारले आवश्यकताका आधारमा प्रश्न छनोट गरिएको बताएका छन्।
यसैबीच, प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने विषय पनि चर्चामा छ। सभामुख अर्यालले संसद् भवनभित्र कालो चस्मा प्रयोग नगर्न निर्देशन दिँदै स्वास्थ्यका कारण आवश्यक भए चिकित्सकीय प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरेका थिए।
त्यसपछि प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्य परीक्षणसम्बन्धी विवरण संसद् सचिवालयमा बुझाएको छ। गत साउन २२ गते छाउनी अस्पतालमा गरिएको आँखाको परीक्षणमा तीव्र उज्यालोमा खाली आँखाले हेर्दा समस्या हुने देखिएको र चिकित्सकको सल्लाहअनुसार कालो चस्मा प्रयोग गर्नुपर्ने उल्लेख गरिएको बताइएको छ।
प्रधानमन्त्रीले सांसदका मुख्य प्रश्नको जवाफ दिएपछि तत्कालै पूरक प्रश्न सोध्न पाउने व्यवस्था भएकाले आजको प्रश्नोत्तर सत्रलाई सरकारको जवाफदेहिता र प्रधानमन्त्री शाहको राजनीतिक तथा नीतिगत अडान परीक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।