काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ।
कार्यालयले सूचना जारी गर्दै काठमाडौंमा रहेका संघसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकस्तरबाट बाढीपीडितलाई सहयोग गर्न इच्छुकलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य आवश्यक घरायसी सामग्री उपलब्ध गराउन आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खिमराज भुसालका अनुसार बुधबार आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन संकलन केन्द्रको व्यवस्था गरिएको हो।
उनका अनुसार काठमाडौंमा संकलन भएका सबै राहत सामग्री जिल्ला प्रशासन कार्यालयमार्फत एकद्वार प्रणालीमा राखिनेछ। त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राहत तथा उद्धारमा प्रत्यक्ष खटिएका काठमाडौंस्थित सुरक्षा निकाय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वय तथा निर्देशनमा सामग्री व्यवस्थापन गरी वास्तविक पीडितसम्म पुर्याइनेछ।
राहत सामग्री संकलन तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको छ। राहत सामग्री सहयोग गर्न इच्छुकले ९८४१७९८५४२ नम्बरमा सम्पर्क गर्न सक्ने कार्यालयले जनाएको छ।
त्यस्तै, नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा वा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको क्यूआरमार्फत मात्र रकम जम्मा गर्न आग्रह गरिएको छ।
राहत वितरणमा दोहोरोपन हुन नदिन, उपलब्ध सामग्रीको उचित व्यवस्थापन गर्न र वास्तविक प्रभावित परिवारसम्म सहयोग पुर्याउन एकद्वार प्रणाली अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।