वीरगञ्ज । “ज्ञान र टोलीगत सहकार्य नै सफलताको आधार हो” भन्ने मूल नाराका साथ वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित सनसाइन इङ्लिस बोर्डिङ स्कुलले अन्तरहाउस क्विज प्रतियोगिता–२०८३ सम्पन्न गरेको छ।
विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, ज्ञान अभिवृद्धि तथा आत्मविश्वास विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा रेड हाउसले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियनको उपाधि हात पारेको विद्यालयका सञ्चालक अमित आलोकले जानकारी दिनुभयो।
प्रतियोगितामा रेड हाउसका विद्यार्थीहरूले विभिन्न प्रश्नहरूको आत्मविश्वासपूर्वक जवाफ दिँदै ज्ञान, टोलीगत सहकार्य, समर्पण र उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका थिए। सोही प्रदर्शनका आधारमा रेड हाउसले प्रथम स्थान हासिल गर्दै प्रतियोगितामा बाजी मारेको हो।
विद्यार्थीहरूको क्षमता तथा प्रतिभा विकासका लागि विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको सञ्चालक आलोकले बताउनुभयो। यस्ता प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान अभिवृद्धि गर्नुका साथै आत्मविश्वास, सहकार्यको भावना र प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।
प्रतियोगितामा च्याम्पियन बनेको रेड हाउसका विद्यार्थीहरूलाई विद्यालयले बधाई तथा शुभकामना दिँदै सम्मानसमेत गरेको थियो।
विद्यालयका सञ्चालक अमित आलोकले विजेता विद्यार्थीहरूलाई आगामी दिनमा पनि निरन्तर सिक्दै आफ्नो प्रतिभा र क्षमता निखार्दै अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना दिनुभयो।