काठमाडौं,१७ भदौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठक संघीय संसद् भवन, सिंहदरबारमा बस्ने संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
विशेष प्रस्तावमार्फत सभामुखले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति प्रतिनिधिसभाको तर्फबाट गहिरो दुःख व्यक्त गर्नेछन्।
संघीय संसद् सचिवालयले तयार पारेको प्रस्तावमा भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत क्षेत्रमा ठूलो क्षति भएको उल्लेख छ।
बाढीका कारण धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रसमेत प्रभावित भएको प्रस्तावमा जनाइएको छ। घटनामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै ठूलो संख्यामा मानिसको मृत्यु भएको र व्यापक जनधनको क्षति भएको भन्दै प्रतिनिधिसभाले दुःख व्यक्त गर्ने जनाएको छ।
प्रस्तावमा बाढीका कारण घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, मृत्यु भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिने उल्लेख छ।
बाढीबाट प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहत व्यवस्थापनलगायत विषयमा समेत बैठकमा सांसदहरूले धारणा राख्ने अपेक्षा गरिएको छ।