वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७, अलौमा रहेको श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले रसुवाका बाढी तथा पहिरोपीडित नागरिकका लागि आर्थिक राहत सङ्कलन अभियान सञ्चालन गरेको छ।
विद्यालयका विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरूले विपद्मा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले स्वेच्छिक रूपमा राहत रकम सङ्कलन गरिरहेका हुन्। सङ्कलन गरिएको रकम प्याब्सन जिल्ला कार्यसमिति पर्सामार्फत सम्बन्धित राहत अभियानमा पठाउने तयारी गरिएको विद्यालयकी प्रिन्सिपल मञ्जु राणा भाटले जानकारी दिनुभयो।
प्रिन्सिपल राणाभाटका अनुसार विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु विद्यालयको सामाजिक उत्तरदायित्वसमेत भएकाले विद्यार्थी र शिक्षकहरूको सहभागितामा राहत सङ्कलन अभियान अघि बढाइएको हो।
यस अभियानले विद्यार्थीहरूमा सामाजिक सेवा, मानवीय संवेदना तथा सहयोगी भावनाको विकास गर्नसमेत सहयोग पुग्ने उहाँले बताउनुभयो।
रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला विद्यालयस्तरबाट गरिएको यो पहलले सकारात्मक सन्देश दिएको विद्यालयले जनाएको छ।
सङ्कलन भएको रकम पारदर्शी रूपमा प्याब्सन जिल्ला कार्यसमिति पर्सा तथा प्याब्सन महानगरलाई बुझाई एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने योजना रहेको प्रिन्सिपल राणाभाटले बताउनुभयो।
उहाँले विपद्को यस कठिन समयमा मनकारी व्यक्ति, संघसंस्था तथा अन्य सहयोगी दाताहरूलाई राहत अभियानमा हातेमालो गर्नसमेत आग्रह गर्नुभएको छ।