२० भदौ,नुवाकोट । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षति अकल्पनीय रहेको बताएका छन् ।
रसुवामा आएको विनाशकारी बाढीपछिको अवस्था अवलोकन गर्ने क्रममा नुवाकोटको त्रिशूली पुगेका ओलीले बाढी र पहिरोका कारण ठूलो तथा अपूरणीय क्षति भएको बताएका हुन् ।
प्रभावित क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले यसपटकको बाढीको प्रकृति र बहाव अस्वाभाविक रहेको बताए । मानिसहरूले भागेर ज्यान जोगाउने समयसमेत नपाउने गरी बस्तीमा बाढी पसेको उनको भनाइ थियो ।
‘खोलाको सिमाना नै नरहने गरी आएको यो असाधारण बाढीले हजारौँको सङ्ख्यामा भौतिक संरचना ध्वस्त पारेको छ,’ ओलीले भने, ‘झाडी र घरका छतहरूमा शव भेटिनु अत्यन्तै हृदयविदारक छ ।’
उनले उद्धार र तत्कालीन राहत मात्रै पर्याप्त नहुने भन्दै दीर्घकालीन पुनर्निर्माण तथा व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताए । सडक, पुललगायत भौतिक संरचनाको पुनर्निर्माणसँगै प्रभावित नागरिकको आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका लागि ठोस योजना आवश्यक रहेको उनले उल्लेख गरे ।
बालबालिकाको शिक्षामा अवरोध हुन नदिन र बिरामीले नियमित औषधोपचार पाउने व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने ओलीको भनाइ छ ।
उच्च पदस्थ अधिकारीहरूको प्रभावित क्षेत्र भ्रमण औपचारिकतामा मात्र सीमित हुन नहुने भन्दै ओलीले सरकारको प्रभावकारिता प्रभावित नागरिकले प्रत्यक्ष महसुस गर्नुपर्ने बताए ।
‘अहिलेको मुख्य आवश्यकता जनतालाई राहत र भरोसा दिनु हो,’ उनले भने, ‘हामी सबै मिलेर यो सङ्कटको सामना गर्नुपर्छ । राहत कार्यको रफ्तारलाई अझ बढाउनुपर्छ ।’
ओलीले उद्धार तथा राहतमा खटिएका सरकारी निकायलाई थप सक्रिय बनाउनुपर्नेमा जोड दिँदै एमालेका तर्फबाट पनि राहत तथा सहयोगका कार्यक्रमलाई थप तीव्रता दिने प्रतिबद्धता जनाए ।