काठमाडौं, २३ भदौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै प्रत्येक वर्ष यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गत १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको दिन २३ भदौलाई शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यससँगै आज पहिलोपटक देशभर जेनजी शहीद दिवस मनाइँदैछ।
गत वर्ष सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको जेनजी आन्दोलन केही समयमै व्यापक राजनीतिक तथा सामाजिक असन्तुष्टिको आन्दोलनमा परिणत भएको थियो। राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवाको अवस्था तथा अवसरमा रहेको असमानताविरुद्ध युवाहरूले आवाज उठाएका थिए।
आन्दोलनका क्रममा २३ भदौमा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो। उक्त घटनाको विरोधमा भोलिपल्ट २४ भदौमा देशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको थियो।
दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाले ज्यान गुमाएका थिए। आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा समेत आगजनी र तोडफोडका घटना भएका थिए।
सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको योगदान र बलिदानको स्मरण गर्दै २३ भदौलाई औपचारिक रूपमा ‘जेनजी शहीद दिवस’ का रूपमा स्थापित गरेको हो। आज देशभर विभिन्न कार्यक्रममार्फत आन्दोलनका शहीदहरूको सम्झना गरिँदैछ।