काठमाडौं,२४ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएका घटनाको गम्भीर र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
अध्यक्ष ओलीले आज जारी गरेको प्रेस वक्तव्यमा भदौ २३ गतेको युवा प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले त्यसपछिका घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।
लोकतन्त्रमा नागरिकले सरकारसमक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र माग राख्नु स्वाभाविक भएको उल्लेख गर्दै ओलीले संविधानले शान्तिपूर्ण रूपमा भेला हुने, विरोध गर्ने तथा लोकतान्त्रिक माध्यमबाट सरकार गठन, पुनर्गठन र परिवर्तन गर्ने अधिकार सुनिश्चित गरेको बताएका छन्।
उनले आफू प्रधानमन्त्री रहेका बेला बसेको मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि आयोग गठन गर्ने, सामाजिक सञ्जालमाथि लगाइएको अस्थायी प्रतिबन्ध हटाउने, घाइतेको निःशुल्क उपचार तथा पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको स्मरण गरेका छन्।
वक्तव्यमा तत्कालीन गृहमन्त्रीले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको पनि ओलीले उल्लेख गरेका छन्।
त्यस्तै, भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र आक्रमणलाई ओलीले अत्यन्त दुःखद् घटनाका रूपमा चित्रण गरेका छन्।
उनले ती घटनाको समेत गम्भीर छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।