काठमाडौँ । स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच युद्ध सुरु भएयताकै ठूलो समुद्री आक्रमणको शृंखला चलेको छ। विश्वको तेल तथा प्राकृतिक ग्यास आपूर्तिका लागि महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा दुवै पक्षले एक–अर्काका पानीजहाजलाई निशाना बनाएपछि तनाव थप चर्किएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय हर्मुज क्षेत्रमा ६ महिनायताकै ठूलो तनाव देखिएको छ। अमेरिकाले इरानका पाँचवटा तेल ट्यांकरमाथि हमला गरेको जनाएको छ भने त्यसको जवाफमा इरानले अमेरिका तथा अन्य देशका गरी १० वटा तेल ट्यांकरलाई निशाना बनाएको बताइएको छ।
समुद्री यातायातलाई लक्षित गरी भएका यी आक्रमणलाई युद्ध सुरु भएको करिब ६ महिनापछि दुवै पक्षबाट भएको सबैभन्दा ठूलो आक्रमणको शृंखलाका रूपमा हेरिएको छ।
आक्रमणसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत तीव्र रूपमा बढेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। गत जुलाईपछि पहिलोपटक ब्रेन्टको मूल्य १०० डलर पार गरेको हो।
समुद्री आक्रमणका क्रममा कम्तीमा एक जना चालक दलका सदस्यको मृत्यु भएको तथा अर्का एक जना बेपत्ता रहेको रोयटर्सले जनाएको छ।
अमेरिकी सेन्ट्रल कमान्डले इरानको रिभोल्युसनरी गार्ड (आईआरजीसी)ले अमेरिकी नौसेनाको युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट दुईपटक निशाना बनाएपछि त्यसको जवाफमा पाँचवटा इरानी तेल ट्यांकरमाथि कारबाही गरिएको जनाएको छ। अमेरिकी पक्षका अनुसार उक्त कारबाहीमा कुनै पनि अमेरिकी सैनिक घाइते भएका छैनन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसैनिक पानीजहाजलाई निशाना बनाइरहे प्रत्येकपटक थप इरानी तेल ट्यांकर गुमाउनुपर्ने चेतावनी दिएका छन्।
यता, इरानले भने अमेरिकाका दुईवटा पानीजहाजसहित अन्य आठवटा तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेको छ।
दुबईनजिकै रोकिराखिएको ‘हर्क्युलिस स्टार’ नामक तेलवाहक पानीजहाजमाथि भएको आक्रमणमा एक जना चालक दलका सदस्यको मृत्यु भएको र अर्का एक जना बेपत्ता रहेको जहाजको चार्टर कम्पनी पेनिन्सुलाले जनाएको छ।
यसैगरी, करिब २० लाख ब्यारेल इन्धन बोकेको ‘न्यु एन्ड्रोस’ नामक ट्यांकर इराकी जलक्षेत्रमा ड्रोन आक्रमणपछि आगलागीमा परेको इराकी बन्दरगाह अधिकारीहरूले बताएका छन्। जहाजमा रहेका २२ जना चालक दलका सदस्य भने सुरक्षित रहेको जनाइएको छ।
बेलायती समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार उत्तरी गल्फ तथा गल्फ अफ ओमान क्षेत्रमा केही व्यावसायिक पानीजहाजमाथि आक्रमण भएको जानकारी प्राप्त भएको छ। संयुक्त अरब इमिरेट्सको खोर फक्कान बन्दरगाहमा एउटा एलएनजी ट्यांकरसमेत क्षतिग्रस्त भएको बताइएको छ।
हर्मुज जलमार्गमा बढेको तनावले विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर पार्न थालेको छ। ऊर्जा परामर्श कम्पनी रिस्ट्याड इनर्जीका प्रमुख अर्थशास्त्री क्लाउडियो गालिम्बर्टीका अनुसार हर्मुज हुँदै हुने तेलको प्रवाह दैनिक करिब २० लाख ब्यारेलमा झरेको छ।
युद्ध पुनः चर्किनुअघि हर्मुज जलमार्गबाट दैनिक ८० लाखदेखि ९० लाख ब्यारेलसम्म तेल ओसारपसार हुँदै आएको थियो। अहिले समुद्री यातायातमा अवरोध बढेसँगै कच्चा तेलसँगै पेट्रोलियम पदार्थको मूल्यसमेत उकालो लागेको छ।
अमेरिकामा डिजेलको औसत खुद्रा मूल्य प्रतिग्यालोन ५.९४ डलरभन्दा माथि पुगेको बताइएको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
यसैबीच इरानले जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। जोर्डनका अनुसार प्रहार गरिएका २० मध्ये १८ वटा क्षेप्यास्त्र आकाशमै नष्ट गरिएको थियो भने बाँकी दुई मानव बस्ती नभएको क्षेत्रमा खसेका थिए।
इरानको रिभोल्युसनरी गार्डले थप आक्रमण भए जबाफी कारबाही अझ तीव्र बनाउने चेतावनी दिएको छ। उसले समुद्रमा नयाँ तथा पहिलेभन्दा ठूलो निषेधित क्षेत्र घोषणा गर्ने तयारीसमेत गरेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनलाई प्रभावित पार्न खोजिरहेको आरोप लगाएका छन्।
यद्यपि, वाल स्ट्रिट जर्नलले ह्वाइट हाउसका वरिष्ठ सल्लाहकारहरूले युद्ध ट्रम्पको राष्ट्रपतीय कार्यकाल अर्थात् जनवरी २०२९ सम्म लम्बिन सक्ने चेतावनी दिएको उल्लेख गरेको छ। रोयटर्सले भने उक्त रिपोर्टलाई तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ।