काठमाडौं, भदौ २५ - नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएको छ। बिहीबार क्वालालुम्पुरस्थित बायुमास ओभलमा भएको सेमिफाइनलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरको उत्कृष्ट प्रदर्शनसामु २८.१ ओभरमा ६० रनमै समेटियो।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए। ललित राजवंशी र रोहित पौडेलले २–२ विकेट लिएपछि ओमानको ब्याटिङ लाइनअप धराशायी भएको थियो। ओमानका जतिन्दर सिंहले सर्वाधिक २५ तथा जितेन रामानन्दीले १३ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। सुरुवातमै विकेट गुमाएर दबाबमा परेको नेपाललाई दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले महत्वपूर्ण साझेदारी गर्दै उकासेका थिए।
दीपेन्द्रले ७६ बलमा ४ चौका सहित ५१ रन बनाए भने प्रतियोगितामा पहिलो खेल खेलेका बसिरले ८८ बलमा ३ चौका र १ छक्काको मद्दतले ४७ रन जोडे। उनीहरूको साझेदारी टुटेपछि भने नेपालले लगातार विकेट गुमाएको थियो।
ओमानका जय ओडेडरा र हसनाइन साहले नेपालका ३–३ विकेट लिए।
फाइनलमा अब नेपालले यूएईको सामना गर्नेछ। अर्को सेमिफाइनलमा यूएईले हङकङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
शनिबार हुने फाइनलमा यूएईलाई पराजित गर्न सके नेपालले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। एसीसी प्रिमियर कपको विजेताले एसिया कप खेल्ने प्रावधान अनुसार फाइनल नेपालका लागि महत्वपूर्ण बनेको छ।
नेपाल यस प्रतियोगिताको साविक विजेतासमेत हो। सन् २०२३ मा प्रिमियर कपको उपाधि जित्दै नेपालले पहिलोपटक एसिया कपमा सहभागिता जनाएको थियो।