वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६, रेल्वे रोडस्थित कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीलाई विभिन्न जिम्मेवारी प्रदान गर्दै ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले विद्यार्थीहरूलाई ब्याच वितरण गर्दै सपथ ग्रहण गराएका थिए। उनले विद्यार्थीले प्राप्त गरेको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै विद्यालयको प्रतिष्ठा उचो बनाउनुपर्नेमा जोड दिए।
अध्यक्ष बन्जाराले विद्यार्थी जीवनमा अनुशासन, नेतृत्व क्षमता, जिम्मेवारीबोध र सकारात्मक सोचको महत्वपूर्ण भूमिका रहने बताए। उनले विद्यार्थीलाई समाजमा आफ्नो छुट्टै पहिचान स्थापित हुने गरी रचनात्मक तथा सकारात्मक काम गर्न सुझाव दिए।
विद्यालयले विगतदेखि नै समाजमा आफ्नो मान–प्रतिष्ठा कायम राख्दै आएको उल्लेख गर्दै उनले शिक्षक, शिक्षिका, सञ्चालक तथा प्रधानाध्यापकले आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्ने बताए। साथै, विद्यालयले आफूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकोमा आभार व्यक्त गर्दै विद्यालयको शैक्षिक तथा सामाजिक गतिविधिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यार्थीहरूले विद्यालयको अनुशासन, मर्यादा र जिम्मेवारीलाई आत्मसात् गर्दै आफूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासहित सपथ ग्रहण गरेका थिए।
विद्यालयका प्रिन्सिपल बसन्त बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सामुदायिक सेवा केन्द्र कुमाल टोलका सचिव श्रावण रायमाझी, मधेस प्रदेशका दृष्टिविहीन संघका अध्यक्ष महेश शाह, हिमालयन इन्स्योरेन्स कम्पनीका शाखा म्यानेजर प्रमोदकुमार प्रजापति, जगत समाचार एवं जनभन्दा पर दैनिकका कार्यकारी सम्पादक जगत राई, मास्थन युवा क्लबका राहुल रौनियार तथा पत्रकार जागिर हुसेनलगायतले विद्यार्थीलाई ब्याच वितरण गरेका थिए।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रमको सहजीकरण कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलका निर्देशक मार्टिन मुक्तनले गरेका थिए।