२९ भदौ, जनकपुर । तराई-मधेशका जिल्लाहरूमा आज बेलुकी उदाउने चन्द्रमाको पूजा-आराधना गरी धार्मिक तथा सांस्कृतिक पर्व चौठचन्द्र (चौरचन) विशेष हर्षोल्लासका साथ मनाइँदै छ । छठपछिको दोस्रो ठुलो र महत्त्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा व्रतालुहरू दिनभर निराहार उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् ।
धार्मिक परम्पराअनुसार सूर्यास्तपछि घरको आँगन गोबरले लिपेर चामलको पिठो (पिठार)बाट आकर्षक ‘अरिपन’ (अल्पनाररङ्गोली) बनाइन्छ । सोही अरिपनमा माटोका नयाँ भाँडामा जमाइएको दही, केरा, मिठाई, खीर, पुरी तथा विभिन्न मौसमी फलफूलका परिकारहरू राखेर गणेश र चन्द्रमाको आराधना गरिन्छ। पूजापछि गणेश र चन्द्रमासँग जोडिएका धार्मिक कथाहरू सुन्ने र सुनाउने परम्परा रहँदै आएको छ ।
आँगनमा विधिपूर्वक पूजा सम्पन्न भएपछि व्रतालुहरूले चन्द्रमालाई अर्घ्य अर्पण गरी व्रत समापन गर्छन्। त्यसपछि पूजामा चढाइएको महाप्रसाद आफन्त र छिमेकीहरूमा बाँड्ने गरिन्छ । यो व्रत बस्नाले परिवारमा सुख, समृद्धि, सुस्वास्थ्य कायम हुने र चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
ऐतिहासिक तथा धार्मिक मान्यताअनुसार मिथिलाका प्रख्यात ज्योतिष एवं तत्कालीन राजा हेमाङ्गद ठाकुरले चौठचन्द्र पर्व मनाउने परम्पराको सुरुवात गरेका थिए। भाद्र शुक्ल चतुर्थीका दिन चन्द्रमाको दर्शन गर्दा लाग्ने सम्भावित दोष वा कलङ्कबाट जोगिन र विशेष फल प्राप्तिका लागि यो व्रत बसिने शास्त्रीय मान्यता छ ।
नेपालको तराई(मधेशका जिल्लाहरूसँगै छिमेकी मुलुक भारतका विभिन्न राज्यहरूमा समेत चौठचन्द्र पर्व उत्तिकै श्रद्धा र उत्साहका साथ मनाउने गरिन्छ ।