२९ भदौ, काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस आज विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइँदै छ । यसै क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक संस्थागत रूपमै महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको छ ।
प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीका अनुसार स्मृति दिवसका अवसरमा आज दिउँसो मैतीदेवीस्थित ‘महाकवि देवकोटा सङ्ग्रहालय’मा ‘महाकवि देवकोटास् मिथ र यथार्थ’ विषयक विशेष विचार गोष्ठी आयोजना गरिँदै छ । कार्यक्रममा महाकविका सुपुत्र पद्म देवकोटाले स्मृतिपत्र र वरिष्ठ साहित्यकार महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
विक्रम संवत् १९६६ कात्तिक २७ गते काठमाडौँको डिल्लीबजारमा लक्ष्मीपूजाका दिन जन्मिएका देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो। १० वर्षको कलिलो उमेरदेखि नै काव्य सिर्जनामा लागेका देवकोटाका सयभन्दा बढी महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास र कविताहरू प्रकाशित छन्। उनको कालजयी कृति ‘मुनामदन’ नेपाली साहित्यमा हालसम्म सबैभन्दा बढी बिक्री भएको खण्डकाव्य मानिन्छ ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी(प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनाहरूमा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिताको अनुपम सङ्गम पाइन्छ। भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई हिन्दी साहित्यका महान् कविहरू सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त त्रिपाठी ‘निराला’को संयुक्त रूपसँग तुलना गरेका थिए । यस्तै, नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको टिप्पणी गरेका थिए ।
आशु कवि देवकोटाले तीन महिनामै ‘शाकुन्तल’ महाकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य रचना गरेका थिए । २०१६ सालमा शिक्षा तथा स्वायत्त शासन मन्त्री छँदा नेपालभरका विद्यालयमा नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनु तथा नेपाल प्रज्ञा(प्रतिष्ठानको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु उनका अविस्मरणीय देन मानिन्छन् ।
आफ्नो जीवनकालमा चरम आर्थिक अभाव र पारिवारिक वियोग झेलेर पनि नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन देवकोटाले खेलेको अद्वितीय भूमिकाको आज साहित्यिक क्षेत्रमा स्मरण गरिँदै छ ।