अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्। उनलाई काठमाडौं गोर्खाजले आफ्नो टोलीमा अनुबन्ध गरेको हो।
काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा भित्र्याइएको औपचारिक जानकारी दिएको छ। वार्नर एनपीएल खेल्ने अहिलेसम्मकै चर्चित तथा ठूला अन्तर्राष्ट्रिय खेलाडीमध्ये एक हुन्।
यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था ‘सिम स्ट्राइक’ले पनि वार्नरले एनपीएल खेल्ने संकेत गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। उक्त पोस्टमा वार्नरले लाइक गरेपछि उनको एनपीएल आगमनबारे चर्चा थप बढेको थियो। काठमाडौं गोर्खाजले सार्वजनिक गरेको संकेतले पनि वार्नर नै अनुबन्ध हुने खेलाडी भएको अनुमान गरिएको थियो।
३९ वर्षीय वार्नर अस्ट्रेलियाका सफल क्रिकेटरमध्ये एक हुन्। उनले अस्ट्रेलियाका लागि सन् २०१५ र २०२३ मा ओडीआई विश्वकप, सन् २०२१ मा टी–२० विश्वकप तथा सन् २०२३ मा विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेका छन्।
उनी अस्ट्रेलियाका लागि तीनवटै अन्तर्राष्ट्रिय फर्म्याटमा शतक बनाउने खेलाडीसमेत हुन्। वार्नरले ११० टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतकसहित ३ हजार २०० भन्दा बढी रन बनाएका छन्।
समग्र टी–२० क्रिकेटमा भने वार्नरले ४३९ खेल खेल्दै १० शतक र ११८ अर्धशतकको मद्दतमा १४ हजारभन्दा बढी रन बनाइसकेका छन्।
वार्नरले विश्वका विभिन्न चर्चित फ्रेन्चाइज लिगमा समेत खेलिसकेका छन्। उनले भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल, पाकिस्तानको पीएसएल, इंग्ल्यान्डको ‘द हन्ड्रेड’, अमेरिकाको मेजर लिग क्रिकेट, बंगलादेशको बीपीएल, क्यारेबियन प्रिमियर लिग तथा भाइटालिटी ब्लास्टमा सहभागिता जनाइसकेका छन्।