काठमाडौं,३१ भदौ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले तत्काल उपभोक्ता मूल्य नबढाउने भएको छ।
भोटेकोशी नदीमा आएको असाधारण बाढीबाट सिर्जित कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य साविककै कायम राख्ने निर्णय गरेको हो।
आईओसीबाट भदौ ३० गते प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालका लागि पेट्रोलको खरिद मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको ४ रुपैयाँ ६८ पैसा बढेर आएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भइरहेको उतारचढावका कारण खरिद मूल्य बढेको हो।
तर, निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ। जसअनुसार पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम रहनेछ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन्।
यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ तथा काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ हजार ६९७ अमेरिकी डलर नै कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मा यथावत् राखिएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा पनि बाढीपीडित र आम उपभोक्तालाई राहत दिने उद्देश्यले खुद्रा मूल्य नबढाउने निर्णय गरिएको हो।
मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।