काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा मात्रै करिब ६०० भैँसीलाई बगाएको छ ।
नेपाल भेटेरिनरी एशोसिएसनका अनुसार भदौं १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको भेलले रसुवा र नुवाकोटमा ६०० भैंसीलाई बगाएको हो । यस्तै बाढीका कारण ति दुई जिल्लामा १० हजार सुँगुर तथा बंगुर तथा व्यावसायिक फार्मका करिब २ लाख कुखुरा मरेका हुन् ।
बाढीका कारण ठूलो परिमाणमा पशुधन गुमाउँदा प्रभावित कृषकको आम्दानी र जीविकोपार्जनमा समेत गम्भीर असर परेको एशोसिएसनका पूर्वअध्यक्ष डा शीतलकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार एशोसिएसनले बाढी प्रभावित क्षेत्रमा पुनः संकलन गरेको प्रारम्भिक विवरणअनुसार सबैभन्दा ठूलो क्षति भैँसी, सुँगुर तथा बंगुर र व्यावसायिक रूपमा पालिएका कुखुरामा देखिएको हो। बाढीले पशुधन बगाउनुका साथै व्यावसायिक फार्ममा रहेका ठूलो संख्याका कुखुरा नष्ट गरेको एशोसिएसनको भनाइ छ।
पशुधनमा भएको क्षतिले बाढी प्रभावित कृषकको आर्थिक आधार नै कमजोर बनाएको एशोसिएसनले जनाएको छ। कृषकका लागि भैँसी, सुँगुर, बंगुर तथा कुखुरा केवल पशुपन्छी नभएर नियमित आम्दानीको स्रोतसमेत भएकाले ठूलो संख्यामा पशुधन नष्ट हुँदा प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनःस्थापनाको आवश्यकता देखिएको एशोसिएसनले जनाएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा पशुपन्छीका लागि स्वच्छ पानी, सुरक्षित आहार, औषधि तथा उपचारको अभाव हुन सक्ने र मृत पशुपन्छी तथा दूषित वातावरणका कारण सङ्क्रामक रोग फैलिन सक्ने जोखिमसमेत बढेको एशोसिएसनले जनाएको छ। यसले गर्दा ति दुवै जिल्लामा तत्काल पशु स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै नियमित स्वास्थ्य निगरानी र रोग नियन्त्रणका कार्यक्रम आवश्यक रहेको एशोसिएसनको निष्कर्ष छ।
एशोसिएसनले रसुवा, नुवाकोट र धादिङका विभिन्न बाढी प्रभावित क्षेत्रमा तेस्रो चरणको राहत तथा पशुपन्छी स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको छ।
एशोसिएसनको ९ सदस्यीय टोलीले भदौ २९ देखि ३१ गतेसम्म प्रभावित क्षेत्रमा पुगेर मानवीय सहायता तथा पशुपन्छीका लागि औषधि, फिड सप्लिमेन्ट र आवश्यक उपकरण वितरण गरेको हो। टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी पशुधनमा भएको क्षति, उद्धार तथा उपचारको अवस्था र बाढीपछि फैलिन सक्ने सङ्क्रामक रोगको जोखिमबारे जानकारीसमेत संकलन गरेको थियो।
एशोसिएसनका केन्द्रीय अध्यक्ष डा केदार सुवेदीको नेतृत्वमा गएको टोलीमा महासचिव डा शंकर न्यौपाने, पूर्वअध्यक्ष डा शीतल काजी श्रेष्ठ, सचिव डा विशाल पोख्रेल, कोषाध्यक्ष डा विकास श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य डा राकेश चन्दलगायत सहभागी थिए।
टोलीले रसुवाको गोसाइँकुण्ड, कालिका, उत्तरगया र नौकुण्ड, धादिङको गल्छी–देवीघाट तथा नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रमा पुगेर पशुपन्छीको अवस्था तथा बाढीबाट भएको क्षतिको स्थलगत जानकारी लिएको थियो। कार्यक्रममा म्याजिक मार्बल फाउन्डेसन नेपालको समेत सहभागिता रहेको थियो।
बाढीका कारण घरबारविहीन भएका एशोसिएसनका सदस्य डा सुदिप कोइराला र डा तुल्सिराम गम्पोका परिवारलाई समेत आर्थिक सहयोग गरिएको छ।
एशोसिएसनका तर्फबाट दुवै सदस्यलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिएको थियो। त्यसैगरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा केदार सुवेदीले व्यक्तिगत तर्फबाट समेत दुवै सदस्यलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए।
बाढीले कृषकको आर्थिक आधारका रूपमा रहेको पशुधनमा ठूलो क्षति पुर्याएकाले तत्कालीन राहतमा मात्र सीमित नभई पशुधन पुनर्स्थापना, रोग नियन्त्रण, पशु स्वास्थ्य सुरक्षा तथा प्रभावित परिवारको जीविकोपार्जन पुनर्स्थापनाका दीर्घकालीन कार्यक्रम सञ्चालन गर्नुपर्ने एशोसिएसनका अध्यक्ष डा केदार सुवेदीले बताए।
उनका अनुसार विपद्पछिको अवस्थामा पशुपन्छीमा विभिन्न सङ्क्रामक रोग फैलिन सक्ने जोखिम रहने भएकाले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य निगरानी, उपचार तथा रोग नियन्त्रणका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्न आवश्यक छ।
पशुधन गुमाएका कृषकलाई पुनः पशुपालनतर्फ फर्काउन आवश्यक सहयोग, पशु स्वास्थ्य सेवा र उत्पादन पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्न सके मात्र बाढीबाट प्रभावित कृषकको जीविकोपार्जनलाई पुरानै अवस्थामा फर्काउन सहज हुने एशोसिएसनको भनाइ छ।
एशोसिएसनका अनुसार कान्तिपुर भेट डिष्ट्रिब्युटर्स, कान्तिपुर फार्मास्युटिकल्स, तिलिचो ट्रेडिङ, सेफ भेट फार्मा, बीएमबी भेटेरिनरी हस्पिटल तथा म्याजिक मार्बल फाउन्डेसन नेपालको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा राहत सामग्री, पशु स्वास्थ्य सेवा, औषधि, फिड सप्लिमेन्ट तथा आवश्यक सामग्री उपलब्ध गराइएको हो।