उपभोक्ता अधिकार संरक्षण तथा सचेतना अभिवृद्धिमा योगदान पुर्याएका देशभरका ११ जना अधिकारकर्मी सम्मानित भएका छन्।
उपभोक्ता हित संरक्षण मञ्च नेपालको ३१औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रका अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेमा मञ्चका केन्द्रीय सदस्य तथा पर्साका पत्रकार अजित कुमार भुजेल पनि रहेका छन्। उपभोक्ता अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै उपभोक्ताका समस्या र बजारका विकृतिलाई सार्वजनिक बहसमा ल्याउन योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो।
सम्मानित हुने अन्यमा सिरहाका जिवछ चौधरी, सुदूरपश्चिमका एकिन्द्र तिमिल्सेना, कर्णालीका बिन्दुलाल रेग्मी, रुपन्देहीका समुन्द्र जीसी, सिन्धुपाल्चोकका शालिग्राम अधिकारी र मोरङका तारानाथ भट्टराई रहेका छन्।
त्यस्तै, पूर्व केन्द्रीय सदस्य तथा पत्रकार किशोरजंग थापा, राम शर्मा र रामजी प्रसाद ज्ञवालीलाई पनि विशेष सम्मान गरिएको मञ्चले जनाएको छ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सम्मानित अधिकारकर्मीलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरेका थिए।
मञ्चका अनुसार उपभोक्ता अधिकार संरक्षणमा पुर्याएको योगदान, सक्रियता र निरन्तरताका आधारमा सम्मानित व्यक्तिहरू छनोट गरिएको हो।