जमालपुर/मुंगेर (बिहार) - विश्व हिन्दी परिषद्को आयोजनामा हिन्दी दिवस पखवाडाअन्तर्गत बिहारको जमालपुर, मुंगेरमा अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा बिहारका साथै नेपाल र बंगलादेशबाट आएका साहित्यकार, पत्रकार तथा कलाकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा हिरो राजनले राष्ट्रिय चेतनाले ओतप्रोत हिन्दी कविताहरू प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए। उनको कविता वाचनलाई उपस्थित विदेशी पाहुनाहरूले समेत प्रशंसा गरेका थिए। त्यस्तै, अभिनेत्री कल्पश्वनीले हिन्दी भाषामा आफ्ना कविताहरू प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएकी थिइन्।
गोष्ठीको अध्यक्षता जमालपुरस्थित ऐतिहासिक रेल कारखानाका मुख्य कारखाना प्रबन्धक विनय प्रसाद वर्णवालले गरेका थिए। उनले विश्वस्तरमा हिन्दी भाषा सम्पर्क भाषा, प्रचार भाषा तथा राजभाषाका रूपमा स्थापित हुँदै विश्वव्यापी भाषाका रूपमा समेत आफ्नो पहिचान विस्तार गरिरहेको बताए।
वरिष्ठ पत्रकार तथा राष्ट्रिय कार्यकारिणी सदस्य शशि भूषणले हिन्दी भारतवासी तथा भारतवंशीको राष्ट्रिय अस्मिता, एकता र अखण्डताको प्रतीक भएको बताए। उनले अन्तर्राष्ट्रिय स्तरमा हिन्दी अब भारतको पहिचानमा मात्र सीमित नरही सशक्त विश्वव्यापी तथा सम्पर्क भाषाका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।
उनका अनुसार अमेरिका, रुस, जापान, चीन तथा युरोपका विभिन्न विश्वविद्यालयहरूमा हिन्दी भाषाको अध्ययन–अध्यापन भइरहेको छ। त्यस्तै, मौरिसस, सुरिनाम, त्रिनिदाद, फिजी तथा संयुक्त अरब इमिरेट्सलगायतका देशमा रहेका प्रवासी भारतीयहरूले हिन्दी भाषाको व्यापक प्रयोग गर्दै आएका छन्।
डिजिटल माध्यममा समेत हिन्दी सामग्री तथा हिन्दी प्रयोगकर्ताको संख्या निरन्तर बढिरहेको बताउँदै शशि भूषणले कृत्रिम बुद्धिमत्ता (एआई), सामाजिक सञ्जाल तथा विश्वव्यापी व्यापारका क्षेत्रमा हिन्दी भाषा जान्ने अनुवादक, सामग्री लेखक तथा विशेषज्ञहरूको माग बढ्दै गएको बताए।
हिन्दीलाई विश्वका लोकप्रिय भाषामध्ये एकका रूपमा स्थापित गर्ने उद्देश्यले हिन्दीप्रेमीहरूले विभिन्न देशमा विश्व हिन्दी सम्मेलनलगायत अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आएको पनि उनले बताए।
नेपालका वरिष्ठ पत्रकार राजु लामाले नेपालमा पनि हिन्दी बुझ्ने तथा बोल्ने मानिसहरूको ठूलो संख्या रहेको बताए। भारत र नेपालबीचको गहिरो सांस्कृतिक सम्बन्धका कारण भारतीय चलचित्र, टेलिभिजन धारावाहिक, गीत तथा डिजिटल सामग्री नेपालमा लोकप्रिय रहेको उनले उल्लेख गरे।
उनले हिन्दी र नेपाली दुवै भाषामा देवनागरी लिपिको प्रयोग हुने भएकाले दुई भाषाबीच महत्वपूर्ण समानता रहेको बताए।
बंगलादेशबाट आएका वरिष्ठ पत्रकार तथा लेखक अब्दुल रहमानले सांस्कृतिक तथा सञ्चार माध्यममार्फत बंगलादेशमा पनि हिन्दी भाषाको प्रभाव व्यापक रहेको बताए। बलिउडका चलचित्र, भारतीय टेलिभिजन धारावाहिक तथा हिन्दी गीतको लोकप्रियताका कारण विशेषगरी युवापुस्तामा हिन्दी बुझ्ने तथा बोल्ने क्षमता बढेको उनले बताए। केबल टेलिभिजन तथा इन्टरनेटका माध्यमबाट समेत हिन्दी भाषाको विस्तार भइरहेको उनको भनाइ थियो।
गोष्ठीमा नेपालका रुद्र सुबेदी, मोहम्मद शादाब, मोहम्मद आरिफ अन्सारी, पवन कुमार, अस्मत अली, अभिलाष कुमार, केएम राज, विकास कुमार, दीपक, रञ्जित सम्राट, डा. अरुण कुमारलगायत विभिन्न लेखक तथा पत्रकारहरूले हिन्दी भाषाको विश्वव्यापी स्वरूप र यसको विस्तारबारे आ–आफ्ना धारणा राखेका थिए।