८ असोज, काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधन (Iईभी) प्रतिको क्रेज र वर्चस्व ह्वात्तै बढेको छ ।
चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिना (साउन र भदौ) को अवधिमा नेपाल भित्रिएका कुल चारपांग्रे सवारी साधनमध्ये करिब ८३ प्रतिशत हिस्सा विद्युतीय कार, जीप तथा भ्यानले ओगटेको तथ्याङ्क बाहिर आएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी सञ्चित तथ्याङ्क अनुसार यस अवधिमा नेपालमा कुल ८ हजार २ वटा कार, जीप तथा भ्यान आयात भएका छन् । जसमध्ये ६ हजार ६४८ वटा पूर्ण विद्युतीय (ईभी)सवारी साधन रहेका छन् । परम्परागत इन्धन अर्थात पेट्रोल तथा डिजेलबाट चल्ने गाडीहरूलाई पछि पार्दै नेपाली उपभोक्ताहरू तीव्र रूपमा विद्युतीय प्रविधितर्फ आकर्षित भइरहेको यो तथ्याङ्कले स्पष्ट देखाएको छ ।
साढे ७ अर्बको ईभी भित्रिँदा राज्यलाई करोडौं राजस्व
भन्सार विभागको वर्गीकरणअनुसार चालु आवको दुई महिनामा विभिन्न तीनवटा मुख्य शीर्षक मार्फत विद्युतीय सवारीको आयात भएको छ । जसमा एचएस कोड ८७०३८०११ अन्तर्गत २ हजार २४७ वटा, ८७०३८०१९ अन्तर्गत १ हजार ५६७ वटा र अन्य विद्युतीय सवारी शीर्षकमा २ हजार ८३४ वटा गाडी भित्रिएका छन् ।
साउन र भदौमा आयात भएका यी ६ हजार ६४८ वटा ईभीको कुल आयात मूल्य ७ अर्ब ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । विशेषगरी अन्य विद्युतीय सवारी शीर्षकमा आयात भएका गाडीको मूल्य मात्रै करिब ६ अर्ब ७० करोड रुपैयाँ बराबरको रहेको छ । यी विद्युतीय सवारीसाधनको आयातबाट मात्रै राज्यले कर तथा भन्सार राजस्वबापत ४५ करोड २ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
इन्धनबाट चल्ने गाडीको हिस्सा खुम्चिँदै
बजारमा विद्युतीय सवारीको दबदबा कायम रहँदा परम्परागत इन्धनमा आधारित सवारी साधनहरूको आयात भने क्रमशः घट्दै गएको छ । समीक्षा अवधिमा पेट्रोलबाट चल्ने १ हजार २१६ वटा कार, जीप तथा भ्यान आयात भएका छन्, जसको कुल मूल्य ९८ करोड ६२ लाख रुपैयाँ र राजस्व योगदान १९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी, डिजेलबाट चल्ने सवारीको आयात संख्या १०१ वटामा मात्र सीमित भएको छ। डिजेल गाडीको आयात मूल्य २८ करोड ६७ लाख रुपैयाँ रहँदा त्यसबाट ९ करोड ७० लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । पेट्रोल र विद्युत् दुवै प्रविधिबाट चल्ने हाइब्रिड गाडीको आयात भने निकै कम अर्थात् ३७ वटा मात्रै (प्लग–इन र गैर प्लग–इन) देखिएको छ, जसको आयात मूल्य २० करोड ७९ लाख र राजस्व योगदान ४ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
समग्र आयात तथ्याङ्क र भविष्यको संकेत
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कुल ८ हजार २ वटा चारपांग्रे सवारी साधन भित्र्याउँदा देशबाट कुल ८ अर्ब ७८ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ भने समग्र चारपांग्रे आयातबाट राज्यको ढुकुटीमा कुल ७९ करोड २२ लाख रुपैयाँ राजस्व जम्मा भएको छ ।
संख्यात्मक रूपमा मात्र नभई कुल आयात मूल्यमा समेत विद्युतीय सवारीको हिस्सा ८३ प्रतिशतभन्दा माथि रहनुले नेपालमा हरित ऊर्जा र पर्यावरणमैत्री यातायात प्रणालीको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको बलियो संकेत गरेको छ ।