काठमाडौं– हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशको केही स्थानमा साथै कोशी र मधेश प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा पूर्णतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहनेछ भने कोशी, मधेश र बागमतीका तराई क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा कोशी र बागमतीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराई क्षेत्रतर्फ सुदूरपश्चिमका धेरै स्थान, लुम्बिनीका केही स्थान, बागमती र गण्डकीका थोरै स्थान तथा कोशी र मधेशका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, लुम्बिनी र सुदूरपश्चिमका तराईका क्षेत्रमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र अन्य प्रदेशका हिमालीरपहाडी भेगका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना कायम रहनेछ। सुदूरपश्चिमका तराईका केही स्थान र अन्य प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसममा आउने यो परिवर्तनका कारण हिमाली तथा पहाडी भू-भागमा पहिरो र तराईमा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।