वीरगंजमा बुधबार महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी सहकर्मी सिकाइ सत्र सम्पन्न भएको छ।दलित महिला संघ पर्साको आयोजना तथा Human Land Asia को सहयोगमा सञ्चालित ‘महिला नेतृत्वको लागि अभियान परियोजना’अन्तर्गत आयोजित कार्यक्रममा गाउँपालिका क्षेत्रका ३५ जना महिलाको सहभागिता थियो।
सत्रमा महिलाको नेतृत्व क्षमता विकास, सामाजिक सहभागिता, समुदायमा महिलाको भूमिका तथा नेतृत्वका क्रममा देखिने चुनौतीका विषयमा छलफल गरिएको थियो। सहभागी महिलाले आफ्ना अनुभव तथा समुदायमा नेतृत्व गर्दा भोगेका समस्या एकअर्कासँग साझा गरेका थिए।
कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति देवी चौरसिया प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रमको अध्यक्षता दलित महिला संघ पर्साकी अध्यक्ष नबिया देवी अबैधले गरेकी थिइन्।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तुलसी भण्डारी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतको उपस्थिति थियो। दलित महिला संघकी कार्यकारी निर्देशक निला रामको समेत विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमकी संयोजक अञ्जली कुमारी चौहानले सहकर्मी सिकाइले महिलाबीच ज्ञान, सीप र अनुभव आदानप्रदानको वातावरण निर्माण गर्ने बताइन्। उनका अनुसार यस्ता कार्यक्रमले महिलालाई सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय रूपमा अघि बढ्न सहयोग पुर्याउनेछ।
सहभागी महिलाले नेतृत्व विकासका लागि निरन्तर सिकाइ, आपसी सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको बताएका थिए। आयोजकका अनुसार सत्रले महिलालाई आफ्ना अनुभव साझा गर्दै समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान र सीप विकास गर्ने अवसर दिएको छ।