पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट र न्यू लाइट फाउन्डेसनको सहयोग तथा नयाँ जनशक्ति युवा क्लब र लायन्स क्लब अफ पोखरियाको समन्वयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई स्कुल ब्याग, स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।
वडा अध्यक्ष रामप्रवेश चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष तथा प्रमुख अतिथि नेजामुद्दीन शमानीले विद्यार्थीको शिक्षा, स्वास्थ्य तथा खेलकुद विकासमा सहयोग गर्नु समाजको साझा दायित्व भएको बताए।
उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट नेपालका प्रतिनिधि कबित कुमार नेपालको पनि उपस्थिति थियो। पर्साको वीरगञ्ज निवासी युवा समाजसेवी आसिफ हसन कार्यरत न्यू लाइट फाउन्डेसनको पहल तथा सहयोगमा विद्यार्थीहरूलाई स्कुल ब्यागसहित शैक्षिक सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ।
शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरूको अध्ययनमा सहजता पुग्नुका साथै विद्यालयमा नियमित उपस्थितिका लागि समेत प्रोत्साहन मिल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
कार्यक्रममा सशस्त्र प्रहरीका डीएसपी संजय रेग्मी, इलाका प्रहरी कार्यालयका प्रमुख भानुभक्त अर्याल, नयाँ जनशक्ति युवा क्लबका अध्यक्ष रामबाबु चौहान, लायन्स क्लबका कृष्णा पटेललगायत शिक्षक, अभिभावक, समाजका अगुवा तथा दुवै संस्थाका पदाधिकारी एवं सदस्यहरूको सहभागिता थियो।