वीरगञ्ज पब्लिक कलेजले बीबीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा नयाँ विद्यार्थीलाई कलेजको शैक्षिक प्रणाली, व्यवस्थापन शिक्षाको महत्व, उद्यमशीलता, व्यावसायिक सम्भावना तथा नेतृत्व विकासका विषयमा जानकारी गराइएको थियो।
कलेजको शैक्षिक उत्कृष्टताको २६औँ वर्षको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक ज्ञान, सीप र नेतृत्व क्षमताको विकासमा केन्द्रित हुन सुझाव दिइएको थियो।
कार्यक्रम कलेजका संस्थापक प्रा. डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष चन्दन सिंह, नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप तथा नवप्रवर्तन समितिका सदस्य एवं शालिमार पेन्ट्सका प्रबन्ध निर्देशक हेमन्त बैद्य र एचपी अग्रवाल समूहका प्रबन्धक धनञ्जय मिश्र विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठ, कार्यकारी निर्देशक युगल किशोर प्रसाद, शैक्षिक निर्देशक डा. विनय कुमार ठाकुर, प्राचार्य डा. वसुदेव लाल कर्ण, सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठ तथा बीबीए संयोजक इन्जिनियर जयकिशन साहनीलगायतको सहभागिता थियो।
सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले नयाँ विद्यार्थीलाई व्यवस्थापन शिक्षाको क्षेत्र, अध्ययनको स्वरूप तथा भविष्यका अवसरबारे प्रारम्भिक जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।
अभिमुखीकरणमा विद्यार्थीलाई उच्च शिक्षा, उद्यमशीलता, व्यवस्थापन तथा व्यावसायिक क्षेत्रमा अघि बढ्न आवश्यक ज्ञान, सीप र नेतृत्व क्षमताका विषयमा समेत जानकारी दिइएको थियो।
कलेजले विद्यार्थीको शैक्षिक ज्ञानसँगै व्यावहारिक क्षमता र व्यावसायिक दक्षता अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रमले नयाँ विद्यार्थीलाई कलेजको वातावरण र अध्ययन प्रणालीसँग घुलमिल हुन सहज बनाएको आयोजकले जनाएको छ।