वीरगञ्ज– कादम्बरी स्कुलले आजदेखि आफ्नो विद्यालयको मुखपत्रका रूपमा ‘कादम्बरी बुलेटिन’ पत्रिका प्रकाशनमा ल्याएको छ। विद्यार्थीहरूमा रहेको सिर्जनात्मक क्षमता, लेखनकला तथा साहित्यिक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयले उक्त पत्रिका प्रकाशन सुरु गरेको हो।
कादम्बरी स्कुलका सञ्चालक दीपक तुलसियानको सभापतित्व तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमबीच ‘कादम्बरी बुलेटिन’ पत्रिकाको संयुक्त रूपमा विमोचन गरिएको हो। कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, कादम्बरी स्कुलका सञ्चालक दीपक तुलसियान, प्रिन्सिपल राजेन्द्र आचार्य, प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष एवं मनकामना माध्यमिक विद्यालयका प्रिन्सिपल पुरन प्रधान, डीएभी स्कुलका प्रिन्सिपल राकेश मिश्र, जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्ता, सगरमाथा एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल जियालाल गुप्ता, डिपीएस स्कुलका प्रिन्सिपल रञ्जित आनन्द तथा शिक्षिका नकर्मीलगायतले संयुक्त रूपमा पत्रिकाको विमोचन गर्नुभएको थियो।
पत्रिकाको विमोचन गर्दै प्रमुख अतिथि प्राध्यापक डा. शाक्यले कादम्बरी बुलेटिन विद्यार्थीहरूको शैक्षिक ज्ञानसँगै साहित्यिक तथा सिर्जनात्मक प्रतिभा प्रस्फुटन गर्ने महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई आफ्नो पढाइसँगै लेख, रचना, कविता तथा अन्य साहित्यिक विधामा आफ्ना विचार र कलात्मक प्रस्तुति अभिव्यक्त गर्ने अवसर प्रदान गर्न यस्ता प्रकाशनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा र क्षमतालाई उजागर गर्दै उनीहरूमा पठन तथा लेखन संस्कृतिको विकास गर्न पत्रिकाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै कादम्बरी बुलेटिनको निरन्तर प्रकाशन र सफलताको शुभकामना दिनुभयो।
विद्यालयले आफ्ना विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा आधारित शिक्षासँगै अतिरिक्त क्रियाकलाप, साहित्य, कला तथा सिर्जनात्मक गतिविधिमा समेत सहभागी गराउने उद्देश्यले बुलेटिन प्रकाशन सुरु गरेको छ।
कार्यक्रममा विद्यालयको यस प्रयासको प्रशंसा गर्दै पत्रिकाले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न तथा उनीहरूमा आत्मविश्वास, सिर्जनशीलता र लेखन सीप विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूहरु उपस्थिति रहेको थियो।