असोज १५, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ज्येष्ठ नागरिकहरूसँग सञ्चित रहेको अमूल्य ज्ञान र अनुभवलाई भावी पुस्तामा हस्तान्तरण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिएकी छिन् ।
३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै मन्त्री वादीले ज्येष्ठ नागरिकलाई समाजका सक्रिय र सम्मानित साझेदारका रूपमा स्थापित गर्न डिजिटल प्रविधिको उच्च प्रयोग गरिने स्पष्ट पारिन् । यस वर्ष यो दिवस ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार’ भन्ने नाराका साथ मनाइँदैछ ।
बदलिँदो पारिवारिक संरचना र सहरीकरणका कारण ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका एक्लोपन तथा स्वास्थ्य समस्यालाई राज्यले उच्च प्राथमिकतामा राखेको उनले बताइन् । ज्येष्ठ नागरिकहरू केवल हेरचाहको आवश्यकता भएका व्यक्ति मात्र नभई समाजका मार्गदर्शक र अनुभवी धरोहर भएको उल्लेख गर्दै उनले भनिन्, ‘ज्येष्ठ नागरिकहरूको अनुभव र ज्ञानको संरक्षण र पुस्तान्तरणलाई संस्थागत गर्न हामी ‘अनुभव बैङ्क’को अवधारणामा काम गरिरहेका छौँ ।’ मन्त्री वादीले यस पहलले अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई अझ बढी सुदृढ बनाउने दृढ विश्वास व्यक्त गरिन् ।
साथै, मन्त्री वादीले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा विपद्का कारण ज्यान गुमाएका ज्येष्ठ नागरिकहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरिन् । उनले प्रभावितहरूको उद्धार, राहत र पुनस्थापनाका लागि मन्त्रालयले निरन्तर रूपमा समन्वय गरिरहेको समेत जानकारी गराइन् ।
ज्येष्ठ नागरिकप्रतिको सम्मान कुनै एक दिवसको औपचारिकतामा मात्र सीमित नरही हाम्रो व्यावहारिक जीवन, नीति र सामाजिक संस्कारका रूपमा स्थापित हुनुपर्नेमा उनले विशेष जोड दिइन् ।