१६ असोज, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार, विज्ञ टिम तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारीहरूको नामावली आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार प्रधानमन्त्रीको टिममा कुल २५ जना पदाधिकारीहरू कार्यरत रहेका छन् ।
कार्यालयका अनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टोलीमा मन्त्री र राज्यमन्त्री सरहका विशिष्ट व्यक्तिहरूसमेत समेटिएका छन् ।
जसमा कुमार ब्यञ्जनकारलाई अवैतनिक मुख्य राजनीतिक सल्लाहकारका रूपमा राखिएको छ भने राजनीतिक सल्लाहकार असिम शाहले मन्त्री सरहको सेवा-सुविधा पाउनेछन् । त्यसैगरी, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्री सरहको सेवा-सुविधा प्राप्त गरिरहेका छन् । अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.ड.। जगदिश प्रसाद अग्रवाललाई भने मन्त्री सरहको सुविधा दिइएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयको नेतृत्व प्रमुख स्वकीय सचिव (राजपत्राङ्कित विशिष्ट श्रेणी सरह) सुवाष शर्माले गरिरहेका छन् । यस्तै, स्वकीय सचिवमा नविन भण्डारी (रा.प. प्रथम श्रेणी सरह) रहेका छन् ।
सहसचिव (रा.प. प्रथम श्रेणी) सरहका पदहरूमा सञ्जिव पाण्डे (विकास परियोजना), दिपा दाहाल (प्रेस तथा अनुसन्धान विज्ञ), सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक) र विश्व राई (विज्ञ – सामाजिक विकास) कार्यरत छन् ।
उपसचिव (रा.प. द्वितीय श्रेणी)सरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यले सम्हालेका छन्। सहायक विज्ञका रूपमा सुमन गौतम (नागरिक उड्डयन) र रवि किरण अधिकारी (भाषा तथा मस्यौदा)नियुक्त भएका छन् ।
यसैगरी, शाखा अधिकृत तथा अन्य प्राविधिक एवम् प्रशासनिक तह (रा.प. तृतीय र अनङ्कित)मा सुरेन्द्र बजगाईँ (प्रेस सहजकर्ता), रोशन तामाङ (ग्राफिक्स डिजाइन), बेदानन्द जोशी, हेम नारायणदास चौधरी (अनुसन्धान अधिकृत), अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे (भिडियोग्राफर), राज कुमार गौतम र बेनिस कार्की कार्यरत रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।