१६ असोज, काठमाडौँ । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार ह्वात्तै बढेको छ । दसैँ र तिहारलाई लक्षित गरी कोशी प्रदेशका पहाडी जिल्लाहरू तथा तराईका विभिन्न स्थानबाट किसान र व्यापारीहरू खसीबोका खरिदबिक्रीका लागि धरान पुग्ने गरेका छन् ।
दैनिकजसो उपभोग्य वस्तुको कारोबार हुने यस बजारमा विशेष गरी प्रत्येक साताको बिहीबार र शुक्रबार दुई दिन खसीबोकाको मुख्य बजार लाग्ने गर्दछ ।
विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका धरान–१४ का दलबहादुर कथायत घरमै पालेका तथा धनकुटा, पाँचथरलगायतका पहाडी जिल्लाबाट ल्याइएका खसीबोका बिक्री गर्छन्। “यही व्यवसायबाट घरखर्च चलेको छ, बजार व्यवस्थापन राम्रो भएकाले व्यापार गर्न सहज छ,” उनले भने ।
त्यस्तै, मोरङ कानेपोखरीका व्यवसायी चन्द्र खड्का विगत २३ वर्षदेखि सातामा १०० देखि १५० वटासम्म खसीबोका खरिदबिक्री गर्दै आएका छन् । धरानबाट खरिद गरिएका खसीबोका काठमाडौँ, पोखरा, जनकपुर, लहान, इटहरी र इनरुवाका बजारसम्म पुर्याइने खड्काले बताए ।
धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सामान्य समयमा सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेकोमा दसैँ-तिहारजस्ता ठूला चाडपर्वका बेला यो सङ्ख्या बढेर १० हजारभन्दा माथि पुग्ने गर्छ ।
गत आर्थिक वर्ष २०८२र८३ मा यस कृषि उपज बजारबाट कुल १ लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। जसमध्ये चाडपर्वको अवधिमा मात्रै ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजार समितिले जनाएको छ ।
अध्यक्ष भट्टराईका अनुसार अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष खसीबोकाको कारोबारमा १५ प्रतिशतले वृद्धि भइसकेको छ। बजारमा धनकुटा, तेह्रथुम, पाँचथर जस्ता पहाडी जिल्लाका अतिरिक्त इटहरी, कानेपोखरी र बेलबारी क्षेत्रका किसान तथा व्यापारीको उल्लेख्य उपस्थिति छ ।
कोशी प्रदेशकै सबैभन्दा व्यवस्थित खसीबजारका रूपमा स्थापित धरान कृषि उपज बजारले पूर्वी पहाडी भेगका किसानलाई बजार पहुँच दिलाउनुका साथै स्थानीय व्यापार र रोजगारी सिर्जनामा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।