काठमाडौं, १६ असोज । राष्ट्रिय सभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ।
प्रतिनिधिसभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको विधेयक विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा प्रस्तुत गरेका थिए।
विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधिसभाबाट गरिएको संशोधन स्वीकार गर्दै विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो।
लामो समयदेखि संसदीय प्रक्रियामा रहेको विधेयक पारित भएसँगै नेपालमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि आवश्यक कानुनी आधार तयार भएको छ।
विधेयकले अपराध अनुसन्धानका क्रममा वैज्ञानिक प्रमाणको प्रयोग, परीक्षण तथा पहुँचलाई व्यवस्थित र प्रभावकारी बनाउन कानुनी आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। विधि विज्ञान प्रयोगशालाको संस्थागत विकाससँगै अपराध अनुसन्धानलाई थप वैज्ञानिक र प्रमाणमा आधारित बनाउन सहयोग पुग्ने बताइएको छ।
विधेयकको महत्वबारे सदनलाई जानकारी गराउँदै मन्त्री पुनले यसको प्रभावकारी कार्यान्वयनबाट नेपालमा वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका थिए।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट विधेयक पारित भएसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया अघि बढ्ने भएको छ।