१७ असोज, काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा अनियन्त्रित भई सडकबाट नालामा खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसमा चालकसहित कुल १८ जना सवार थिए । दुर्घटनामा परेकामध्ये ६ जनाको घटनास्थल तथा उपचारका क्रममा मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। बसमा सवार अन्य २ जना भने सकुशल रहेका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमध्ये जाजरकोटको भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य मृतक पाँच जनाको भने पहिचान खुल्न बाँकी रहेको र पहिचानका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूमा हरिशरण थापा (गोरखा), तेजेन्द्र प्रसाद भण्डारी (अछाम), आकृति (बर्दिया), पवन बुढा (बाजुरा), सञ्जय थारु (बर्दिया), प्रेम बम (बाजुरा), अनोज खत्री (ललितपुर), लाल बहादुर कार्की (बर्दिया), अस्लाम भगवान (बाँके) र अनिल बुढाथोकी (सल्यान) रहेका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयको टोली प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा तत्काल घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा बसमा चेपिएका तथा घाइते यात्रुहरूको उद्धार गरिएको थियो ।
घाइते सबै १० जनालाई उपचारका लागि नवलपुरको डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको र उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।