काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चलनचल्तीका सिक्का छापी आपूर्ति तथा वितरण गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार प्रकाशित गरेको सूचनामार्फत पूर्वयोग्यताप्राप्त सुरक्षा मुद्रण तथा टकसाल कम्पनीबाट बोलपत्र माग गरेको हो। सिक्काको डिजाइन, टकसाल, आपूर्ति, वितरण तथा सम्बन्धित सेवासहितको कामका लागि बोलपत्र आह्वान गरिएको छ।
बोलपत्र कागजात पूर्वयोग्यताप्राप्त कम्पनी वा तिनका अधिकृत प्रतिनिधिले आगामी कात्तिक १६ गतेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली वा मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टकसाल डिभिजन, बबरमहलबाट खरिद गर्न सक्नेछन्। बोलपत्र कागजातका लागि २० हजार रुपैयाँ शुल्क तोकिएको छ।
पूर्वबोलपत्र बैठक कात्तिक २९ गते दिउँसो १२ बजे राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा हुनेछ।
बोलपत्र आगामी कात्तिक १७ गते दिउँसो १२ बजेसम्म बुझाउनुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने राष्ट्र बैंकले जनाएको छ।
बोलपत्रदाताले न्यूनतम १ लाख ४८ हजार अमेरिकी डलर बराबरको बोलपत्र जमानत पेस गर्नुपर्नेछ। बोलपत्र १२० दिनसम्म मान्य हुनुपर्नेछ भने बोलपत्र जमानत बोलपत्रको मान्य अवधिभन्दा थप ३० दिनसम्म कायम हुनुपर्नेछ।
राष्ट्र बैंकले सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा परेको फर्म, संस्था वा कम्पनी तथा त्यस्ता कम्पनीका सञ्चालक वा लगानीकर्ताले खोलेको नयाँ फर्म वा कम्पनीलाई बोलपत्रमा सहभागी हुन नदिने जनाएको छ।