काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको पछिल्लो आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार भएको आक्रमणमा विमानस्थलका दुई यात्रु टर्मिनलमा क्षति पुगेको छ ।
प्रहारपछि विमानस्थलमा आगलागीसमेत भएको थियो । घटनाबाट भएको भौतिक क्षतिको मूल्याङ्कन भइरहेको प्राधिकरणले जनाएको छ ।
यसअघि शनिबार पनि हुथी विद्रोहीले विमानस्थलमा गरेको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको र ३ सय भन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ । दुवै आक्रमणको जिम्मेवारी हुथी विद्रोहीले लिएका छन् ।
यसैबीच, साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आक्रमण भएको छ । साउदी अरबमाथि जुलाई १३ देखि हुथी विद्रोहीले क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएका छन् ।
लगातारका आक्रमणपछि बेलायतले साउदी अरबसम्बन्धी आफ्नो यात्रा चेतावनी थप कडा बनाएको छ । बेलायती विदेश मन्त्रालयले रियाद विमानस्थल सुरक्षित नभएसम्म त्यहाँ नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
साथै, मदीना अन्तर्राष्ट्रिय विमानस्थलबाहेक साउदी अरबका अन्य विमानस्थल प्रयोग नगर्न र जेद्दा तथा दमामको अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ ।
उता, इरानले साउदी अरब र हुथी विद्रोहीबीच संवाद तथा वार्ता अघि बढाउन सहयोग गर्ने प्रस्ताव गरेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले साउदी विदेशमन्त्री फैसल बिन फरहानसँगको टेलिफोन वार्तामा क्षेत्रीय तनाव कम गर्न राजनीतिक समाधान आवश्यक रहेको बताएका छन् ।
इरानले छिमेकी मुलुकसँग खुला युद्ध चाहेको अस्वीकार गर्दै सैन्य कारबाहीभन्दा वार्ता र कूटनीतिक समाधानमा जोड दिएको छ ।