वीरगञ्ज। नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन्। प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन गरेको हो।
प्रतिष्ठानका अध्यक्ष डा. बिशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा कविता खड्का, सचिवमा सुरेश बिडारी र कोषाध्यक्षमा अजमत अली अन्सारी चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यमा गीता भण्डारी, सूर्य शुभचिन्तक, रेणु गुप्ता, देवी सापकोटा, नवराज रिजाल, किशुन दयाल श्रीकृष्ण र देवराज खरेल चयन भएका छन्।
साधारण सभालाई सम्बोधन गर्दै प्रतिष्ठानका संस्थापक एवम् वरिष्ठ सल्लाहकार जगदिश शर्माले साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै संस्थाको प्रतिष्ठा अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
साहित्यकार गणेश प्रसाद लाठले वीरगञ्जको पठन संस्कृतिलाई विस्तार गर्दै नयाँ पुस्तालाई साहित्यप्रति अभिप्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए। उनले वीरगञ्जमा पुस्तक मेलालगायत साहित्यिक कार्यक्रम आयोजना गर्न आग्रह गर्दै पर्यावरण र प्रकृतिजस्ता विषयलाई समेत साहित्यसँग जोडेर अघि बढ्नुपर्ने धारणा राखे।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले वीरगञ्ज व्यावसायिक सहरका रूपमा परिचित भए पनि यहाँको साहित्यिक पृष्ठभूमिको संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी प्रतिष्ठानले निर्वाह गर्नुपर्ने बताए। उनले प्रतिष्ठानलाई वीरगञ्जमा मात्र सीमित नराखी समग्र मधेश प्रदेश तथा साविक नारायणी अञ्चलअन्तर्गतका मकवानपुर र चितवनका साहित्यकारलाई समेत समेट्ने सशक्त संस्थाका रूपमा स्थापित गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा र पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष गौतमले अग्रजहरूको सम्मान गर्दै उनीहरूबाट प्राप्त सल्लाह र सुझावलाई आत्मसात् गरी सहकर्मीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ पुस्तालाई साहित्यसँग जोड्दै प्रतिष्ठानलाई थप सुदृढ र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्न पहल गर्ने बताए।