लायन्स क्लब अफ वीरगंज नवदीप एकेडेमीको आयोजनामा शनिबार वीरगञ्जस्थित भिषवा डाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अमला, अम्बा, सपेता लगायत विभिन्न प्रजातिका २०० भन्दा बढी बिरुवा रोपिएको हो।
क्लबकी अध्यक्ष चार्टर्ड प्रेसिडेन्ट सुशीला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्सका डिस्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पीएमसीसी रमेश अग्रवाल, क्याबिनेट सेक्रेटरी बासु तिमल्सिना, डिस्ट्रिक्ट पीआरओ चिफ विजय कुशवाहा तथा एरिया चिफ सुनील गुप्तालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले वातावरणीय सन्तुलन कायम राख्न र प्राकृतिक सम्पदाको संरक्षण गर्न वृक्षरोपण आवश्यक रहेको बताएका थिए। उनीहरूले बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिनुका साथै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
वक्ताहरूका अनुसार रूखबिरुवाले कार्बन डाइअक्साइड अवशोषण गरी अक्सिजन उपलब्ध गराउन, वायु प्रदूषण न्यूनीकरण गर्न तथा जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छन्। यसका साथै रूखबिरुवाले माटोको क्षय रोक्न, जलस्रोतको संरक्षण गर्न र वातावरणीय तापक्रम सन्तुलित राख्नसमेत सहयोग पुर्याउँछन्।
बढ्दो वातावरणीय चुनौती न्यूनीकरण गर्न वृक्षरोपणसँगै वनजङ्गल तथा प्राकृतिक सम्पदाको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै वक्ताहरूले बिरुवा रोप्नु मात्रै पर्याप्त नहुने बताए। रोपिएका बिरुवालाई हुर्काएर संरक्षण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण भएकाले यसलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा विशाल साह, विक्की साह, रेनु सिंह, राज विक्रम साह, आनन्द तिवारी, पूजा यादव, रानी देवी सिंह ठकुराई, रीता श्रेष्ठ, पुष्पा यादव, दीपा भट्टराई, मेघा कुमारी कलवार, पिंकी सिंह, रेखा श्रेष्ठ, बबिता चौधरी, गीता साह, प्रिया सिंह र शम्भु सिंह लगायत सदस्यहरूको उपस्थिति रहेको थियो।