नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसको अवसरमा दसैँ पर्वलाई लक्षित गर्दै पर्साको बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी र एलाइड युथ सोसाइटीको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गणको सहकार्यमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।
दसैँका बेला बिन्दवासिनी मन्दिरमा दर्शन तथा पूजापाठका लागि आउने श्रद्धालु भक्तजनको चाप बढ्ने भएकाले मन्दिर परिसरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। धार्मिक स्थलको स्वच्छता कायम राख्नुका साथै सामाजिक उत्तरदायित्वप्रति नागरिकलाई जागरूक बनाउने उद्देश्यसमेत कार्यक्रमले लिएको थियो।
एलाइड युथ सोसाइटीका संस्थापक अध्यक्ष ओमकुमार झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरीया प्रहरीका प्रहरी निरीक्षक भानुभक्त अर्यालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गणका सुरक्षाकर्मी तथा एलाइड युथ सोसाइटीमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो।
सरसफाइ अभियानअन्तर्गत मन्दिर परिसरमा सफाइका विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। चाडपर्वका समयमा धार्मिक स्थलमा हुने भीडभाडलाई मध्यनजर गर्दै सरसफाइ र स्वच्छ वातावरणको महत्त्वबारे समेत जोड दिइएको थियो।
प्रहरी दिवसको अवसरमा आयोजित यस कार्यक्रमले सुरक्षा प्रदान गर्ने आफ्नो नियमित जिम्मेवारीसँगै नेपाल प्रहरीले समुदायसँगको सहकार्य र सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको सन्देश दिएको छ।
यस्ता अभियानले धार्मिक तथा सार्वजनिक स्थलको सरसफाइमा नागरिकको सहभागिता बढाउनुका साथै स्वच्छ वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, चाडपर्वका समयमा मन्दिर तथा सार्वजनिक स्थललाई सफा र व्यवस्थित राख्नु सबैको साझा जिम्मेवारी भएको सन्देशसमेत कार्यक्रमले दिएको छ।