विजयादशमीको अवसरमा कुशवाहा बुद्धिजीवी सेवा समाज पर्सा र नेपाल कुशवाहा कल्याण समाज पर्साको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
पर्साको नगवास्थित काव्या एकेडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा कुशवाहा समुदायका अगुवा, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकआपसमा दसैँको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कुशवाहा समाजका केन्द्रीय सदस्य सुरेश कुशवाहा रहेका थिए भने सभापतित्व नेपाल कुशवाहा कल्याण समाज पर्साका अध्यक्ष प्रमोद कुशवाहाले गरेका थिए।
कार्यक्रममा कुशवाहा बुद्धिजीवी सेवा समाज पर्साका अध्यक्ष सन्दीप कुशवाहाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। उनले दसैँजस्ता चाडपर्वले समाजमा प्रेम, सद्भाव र एकताको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
त्यसैगरी, कार्यक्रमको सञ्चालन कुशवाहा बुद्धिजीवी सेवा समाज पर्साका सचिव विजय कुशवाहाले गरेका थिए। कार्यक्रममा वक्ताहरूले चाडपर्वलाई सामाजिक सम्बन्ध विस्तार, आपसी मेलमिलाप र समुदायबीच एकताको भावना अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा कृष्णा मेहता, हरिन्द्र कुशवाहा, अवध कुशवाहा, अनिल कुशवाहा, श्याम कुशवाहा, किशोर मेहता, फुलेना कुशवाहा, अरुण कुशवाहा, मातृका कुशवाहा र राजेश्वर कुशवाहालगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार शुभकामना आदानप्रदानसँगै आयोजित चियापान कार्यक्रमले सहभागीहरूबीच आत्मीयता बढाउनुका साथै सामाजिक सद्भाव र आपसी एकता अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।