२४ असोज,काठमाडौं । भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया निलम्बनको माग गर्दै राजधानी दिल्लीमा भइरहेको प्रदर्शन चर्किएको छ । ककरोच जनता पार्टीका समर्थकहरूले दिल्लीको जन्तरमन्तर र कनट प्लेस क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् ।
भारतीय अनलाइन ‘दैनिक भास्कर’का अनुसार प्रदर्शनका क्रममा प्रहरीले युट्युबर ध्रुव राठीसहित ककरोच जनता पार्टीका ६०० समर्थकलाई पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएका छन् । आन्दोलनलाई नियन्त्रणमा लिन दिल्लीमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
प्रदर्शनस्थलमा सीमा सुरक्षा बल (बीएसएफ)का कर्मचारीसहित ३ हजार ८०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको समाचारमा उल्लेख छ । सम्भावित घटनालाई नियन्त्रणमा लिन १० वटा हिरासत केन्द्रसमेत स्थापना गरिएका छन् ।
प्रदर्शनका कारण यातायात सेवासमेत प्रभावित भएको छ । नयाँ दिल्ली र हजरत निजामुद्दिन रेलवे स्टेसनमा आउने तथा त्यहाँबाट छुट्ने २५० वटा मेल तथा एक्सप्रेस रेल रद्द गरिएका छन् । यस्तै, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दिल्ली मेट्रोका ४५ वटा स्टेसन बन्द गरिएका छन् ।
यसैबीच, शुक्रबार राति १० बजेदेखि शनिबार राति १० बजेसम्म इन्डिया गेट वरपरको चार किलोमिटर क्षेत्रभित्र इन्टरनेट सेवा बन्द गरिएको छ ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर प्रक्रिया निलम्बनको माग गर्दै गरिएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रशासनले व्यापक सुरक्षा व्यवस्था लागू गरेको छ ।