काठमाडौं । विश्वमा मुस्लिम जनसंख्या तीव्र गतिमा बढ्दै आगामी सन् २०३५ सम्म इसाईलाई उछिनेर सबैभन्दा ठूलो धार्मिक समूह बन्ने प्रक्षेपण गरिएको छ ।
अमेरिकास्थित प्यू रिसर्च सेन्टरको नयाँ अध्ययनअनुसार सन् २०७० सम्म विश्वमा मुस्लिमको संख्या ३ अर्ब ६० करोडभन्दा बढी पुग्नेछ भने इसाईको संख्या ३ अर्बभन्दा कम रहनेछ ।
सन् २०२० मा विश्व जनसंख्याको २६ प्रतिशत रहेका मुस्लिम सन् २०७० मा ३६ प्रतिशत पुग्ने अनुमान छ । इसाई भने विश्व जनसंख्याको करिब २९ प्रतिशत रहनेछन् ।
अध्ययनअनुसार सन् २०२० देखि २०७० सम्म विश्व जनसंख्या २९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यस अवधिमा मुस्लिम जनसंख्या ८० प्रतिशत र इसाई जनसंख्या ३० प्रतिशतले बढ्ने प्रक्षेपण छ ।
मुस्लिम जनसंख्या वृद्धिको प्रमुख कारण उच्च जन्मदर र युवा उमेर समूहको ठूलो हिस्सा हो । सन् २०२०–२०२५ मा मुस्लिम महिलाको औसत प्रजनन दर ३.१ बच्चा प्रतिमहिला रहेको अध्ययनले देखाएको छ । गैरमुस्लिम महिलाको औसत प्रजनन दर भने २ रहेको छ ।
सन् २०२० मा मुस्लिम समुदायको औसत उमेर २४ वर्ष थियो, जुन अन्य धार्मिक समूहभन्दा कम हो । युवा जनसंख्या बढी भएकाले आगामी दशकहरूमा जन्मदर र जनसंख्या वृद्धिमा यसको प्रभाव रहने अध्ययनको निष्कर्ष छ ।
इसाई जनसंख्या भने अफ्रिकाको उपसहारा क्षेत्रमा तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ । सन् २०७० सम्म विश्वका आधाभन्दा बढी इसाई यही क्षेत्रमा बसोबास गर्नेछन् । कंगो लोकतान्त्रिक गणतन्त्र इसाई जनसंख्याका आधारमा अमेरिकालाई उछिनेर सबैभन्दा ठूलो देश बन्ने प्रक्षेपण छ ।
अध्ययनअनुसार हिन्दु जनसंख्या संख्यात्मक रूपमा बढे पनि विश्व जनसंख्यामा उनीहरूको हिस्सा घट्नेछ । बौद्ध धर्मावलम्बीको संख्या र हिस्सा दुवै घट्ने अनुमान छ । धर्म नमान्ने अर्थात् धार्मिक आबद्धता नभएका नास्तिक मानिसको हिस्सा पनि सन् २०२० को २४ प्रतिशतबाट घटेर २०७० मा १७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
प्यूले २०१ देश तथा क्षेत्रको जनसंख्या, उमेर संरचना, जन्मदर, बसाइँसराइ र धर्म परिवर्तनका प्रवृत्तिलाई आधार बनाएर सन् २०२० देखि २०७० सम्मको प्रक्षेपण गरेको हो । यो प्रक्षेपण हालका जनसांख्यिकीय प्रवृत्ति कायम रहेमा हुने सम्भावित परिवर्तनमा आधारित छ ।